Kathmandu Press

डोटीमा विपन्न बालबालिकालाई खाद्यान्न वितरण

डोटीमा विपन्न बालबालिकालाई खाद्यान्न वितरण

डोटी, भदौ २४ : यहाँका चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ। समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो।

अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालले जनाएको छ। दिपायल सिलगढी नगरपालिका–२ मा २०, सायल गाउँपालिका–६ मेल्लेकमा २०, पूर्वीचौकी गाउँपालिकाका–१ खिरसैनमा २०, वडा नं २ बगलेकमा २० र वडा नं ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

यस्तै आदर्श गाउँपालिका–१ मा ३५, वडा नं २ मा ३०, वडा नं ५ मा ३०  र वडा नं ७ मा ३० जनालाई गरी जम्मा २२३ लाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मरसिंह कुडमालले जानकारी दिए। उनका अनुसार विपन्न बालबालिकालाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, चार प्याकेट नुन, दुई किलो चिनी, दुई लिटर तेल र चार नुहाउने साबुन प्रदान गरिएको छ। 
 

प्रकाशित मिति: ०९:५१ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्