Kathmandu Press

असोज दोस्रो सातादेखि दोर्दीबाट बिजुली उत्पादन

असोज दोस्रो सातादेखि दोर्दीबाट बिजुली उत्पादन

लमजुङ, भदौ २३ : लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो सातादेखि बिजुली उत्पादन थाल्ने भएको छ। 

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ।

आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले भने, ‘आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशतमात्र इलेक्ट्रो मेकानिकलको काम बाँकी छ।’

दोस्रो हप्तासम्म बिजुली उत्पादन परीक्षण गरिनेछ। गत असारमा नै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो। 

ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत गृह, सुरूङ मार्ग, तीन हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ।

आयोजनाले २०७२ फागुनदेखि निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो। 

नाकाबन्दी, विद्युत गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति र सुरूङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको जनाइएको छ। 

बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा पावरहाउस रहेको छ। नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता विसं २०६९ असार १ गते भइसकेको आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए। रासस

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्