Kathmandu Press

पोखरा–सिमरा उडान : दुई प्रदेशका सम्भावनालाई उजागर गर्ने

पोखरा–सिमरा उडान : दुई प्रदेशका सम्भावनालाई उजागर गर्ने

गण्डकी, भदौ १८ : बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आजदेखि सकिएको छ।

प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको टोलीले प्रदेश नं २ का विभिन्न स्थलको अवलोकन भ्रमणसहित सरोकारवालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको आज सिमरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए।

Hardik ivf

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कँडेलले पोखरा–सिमरा सिधा हवाई उडानले आर्थिक नगरी र पर्यटकीय नगरीबीचको सम्बन्धलाई जोडेको बताए। पर्यटनको विकासका लागि सरकारका तर्फबाट नीतिगत व्यवस्थाका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

पर्यटन व्यवसायी इच्छाबहादुर वाग्लेले निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै पोखरा–सिमरा सिधा उडानलाई सुलभका साथै दीगो बनाउनुपर्ने आवश्यकता औँल्याए। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई बचाउने गरी काम गर्न सरकारलाई आग्रह गर्दै सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमा नाका पर्यटक आवागमन हुने गरी खोल्नुपर्ने बताए।

नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाइँले आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई अधिकतम भित्र्याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए। उक्त अवसरमा मन्त्री कँडेलले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश नं २ का मुख्यमन्त्रीलाई गण्डकी प्रदेश भ्रमणका लागि पठाएको निम्तो नाट्टा प्रदेश नं २ मार्फत हस्तान्तरण गरे। त्यस्तै नाट्टा गण्डकी प्रदेशका तर्फबाट नाट्टा प्रदेश नं २ लाई पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित पोखरा भ्रमणका लागि निमन्त्रणा दिइयो।

नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले तीन दिने अवलोकन भ्रमण एवं अन्तरक्रिया प्रभावकारीरूपमा सफल बनेको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी बढेर जाने विश्वास व्यक्त गरे। मन्त्री कँडेलसहितको टोली आजै सिमराबाट हवाई उडानमार्फत पोखरा फर्किएको छ। 

प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्