गण्डकी प्रदेशमा संक्रमित र मृत्युदर पनि घटे
काठमाडौं, भदौ १७ : गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ९१६ जनामा गरिएको नमूना परीक्षणमा १८२ जनामा संक्रमण देखिएको हो । प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की ९३, बागलुङ १६, स्याङ्जा ३४, म्याग्दी ३, पर्वत १०, लमजुङ ५, तनहुँमा ९ र नवलपरासी पूर्वमा १२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार ९९२ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा नवलपरासी पूर्वमा, मध्यबिन्दु नगरपालिका –१३ की ६५ वर्षीय महिलाको मृत्यु भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ पुगेको छ । प्रदेशमा केही समयदेखि कोरोना संक्रमण र मृत्युदर क्रमश घटिरहेको छ । कोरोना संक्रमणका कारण दिनमा २८ जनासम्म मृत्यु भएको गण्डकीमा बिहिबार भने १ जनाको मात्र मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा धेरै संक्रमण र मृत्युदर रहेको कास्कीमा आज मृत्युदर शून्य रहेको छ । यस्तै, गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ५८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या २६९ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ११२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।