दार्चुलाकाे दुहुँमा बाढीपहिरो : सय घरधुरी जोखिममा, खाद्यान्न सङ्कट पनि
दार्चुला, भदौ १७ : बाढीपहिराले लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि यहाँको दुहुँ गाउँपालिका अन्धकारमय बनेको छ। यही भदौ १३ गतेको बाढीले गाउँपालिकाभित्रका पाँच जलविद्युत्...
दार्चुला, भदौ १७ : बाढीपहिराले लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि यहाँको दुहुँ गाउँपालिका अन्धकारमय बनेको छ। यही भदौ १३ गतेको बाढीले गाउँपालिकाभित्रका पाँच जलविद्युत् आयोजनाका संरचना बिगारेको थियो।
राष्ट्रिय प्रसारण लाइनले केही वडा जोडिएको भए पनि बाढीपहिराले पोल ढालेपछि गाउँपालिका दिनदेखि स्थानीयवासीले बत्ती बाल्न पाएका छैनन्। अहिले गाउँमा मोबाइल चार्ज गर्न निकै सास्ती भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए। कालागाड ४३, कालागाड ब्रह्मदेव दोस्रो ४५, ब्रह्मदेव ५०, भास्कर पिपलचौरी भाडी ४० र सुत्खोला लघुजलविद्युत् १० किलोवाट पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।
गाउँपालिकाभरि विद्युत् पहुँच पुगेको छ। गाउँपालिकामा तत्काल राष्ट्रिय प्रसारण लाइन जोड्न विद्युत् प्राधिकरण दार्चुलालाई आग्रह गरिएको उनले बताए। अध्यक्ष कार्कीले भने, ‘गाउँपालिकाभरि विद्युतीकरणको काम अघि बढाउन आग्रह गरेका छौं। बिहीबारसम्म प्राविधिक टोली फिल्डमा खटिने जानकारी आएको छ।’
४५ घर भत्किए, १०० घरधुरी जोखिममा
बाढीपहिराबाट यहाँका ४५ बढी घर भत्किएका छन्। गाउँपालिकाको वडा १, २, ३ र ५ का अधिकांश घर भत्काएको हो।
अफरे, नसलीलगायतका स्थानीयवासीलाई गौरीलमाण्डौँ मावि हिकिलामा राखिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए। यस्तै सुत्कोलालगायतका पहिरोपीडितलाई तितराडी र लिखाडमा राखिएको छ। वडा १ पिपलचौरीका बाढीपीडितलाई विद्यालयकै भवनमा राखिएको छ। यस वर्ष गाउँपालिकाको सबैभन्दा बढी क्षति वडा ३ र ५ मा भएको छ। मंगलबार राति पनि दुई÷तीना घर पहिराले ध्वस्त भएको छ।
गाउँभरि सयौँ पहिरो फुटेको छ। एक गाउँबाट अर्को गाउँ जानसम्म बाटो छैन, दुहुँ-५ मा सबैभन्दा बढी जोखिममा छ। बाटोघाटो नै नभएपछि गाउँपालिका र स्थानीय श्रमशिविर लगाएर बाटो खोल्ने काम थालनी गरिएको अध्यक्ष कार्कीले बताए। उनले भने, ‘केही गाउँपालिकामार्फत र केही श्रमरोजगार चलाएर बाटो खोल्ने तयारी गरेका छौं।’
बाढीले गाउँपालिकाभित्रका सातवटा झोलुङ्गे पुल बगाएको छ। झोलुङ्गे पुल बगाएको ठाउँमा काठेपुल लगाउने तयारी गरेका छौं,’ अध्यक्ष कार्कीले भने। यस्तै वडा ५ को गुना आधारभूत विद्यालय जोखिममा रहेको बताइएको छ।
बाढीपहिराका चपेटामा परी गाउँपालिकाभरिका सात योजना ध्वस्त भएका छन्। अहिले आधा दर्जन बढी बस्तीमा अहिले पानीको हाहाकार छ। गाउँपालिकाको सुत्खोला, दुल्ला, सिमार, लिखाड, गुना अफरे बन्तोलीलगायतका बस्तीमा खानेपानी हाहाकार भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए।
वडा २ र ५ का ३ सय घरधुरीमा खानेपानी समस्या भएको छ। पहिराले खानेपानी योजना बगाएपछि अहिले स्थानीयवासीले खोलाबाट आउने पानी पिउन बाध्य छन्।
दुहुँमा बल्ल सुरक्षाकर्मी पुगेका छन्। सदरमुकाम खलङ्गाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली दुहुँको बाढीपहिरो निरीक्षण उद्धारमा खटिएको हो। बाढीपहिरो आउने क्रम नरोकिएको तथा उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
गाउँपालिका अध्यक्ष कार्कीले बाढीपहिराले क्षतविक्षत बनेको गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको छ। भदौ १३ गतेको पहिराले दुहुँसम्म सडक तथा बाटो अवरुद्ध भएको जनाउँदै खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न प्रशासनलाई आग्रह गरेको हो।
गाउँ जाने पुलपुलेसा बाटोघाटो सबै अवरुद्ध छ। उनले तत्काल गाउँसम्म सडक सञ्चालन हुन नसक्ने भएको हुँदा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि प्रशासनलाई सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
गाउँपालिकाले तत्काललाई १०० क्विन्टल चामल, पाँच क्विन्टल दाल, २०० लिटर तेल, पाँच क्विन्टल नुन र पाँच हजार मिटर पाइप ढुवानी गर्न माग गरिएको छ। (रासस)









-(86)-1764936079.jpg)


-1764760320.jpg)