पहिरोमा पुरिएर पाेखरामा तीनजनाको मृत्यु
काठमाडौं, भदौ १७ : कास्कीको पोखरा महानगरपालिका-२० भलाम बस्ने ४५ वर्षीय कृष्ण श्रेष्ठको घरमा बुधबार साँझ पहिरो जाँदा पहिरोमा पुरिएर उनी र उनकै...काठमाडौं, भदौ १७ : कास्कीको पोखरा महानगरपालिका-२० भलाम बस्ने ४५ वर्षीय कृष्ण श्रेष्ठको घरमा बुधबार साँझ पहिरो जाँदा पहिरोमा पुरिएर उनी र उनकै श्रीमती ३५ वर्षीया सानुमाया तामाङको मृत्यु भएको छ।
पहिरोमा परी गम्भीर घाइते भएका कृष्णको मणिपाल अस्पतालमा उपचारको क्रममा तथा सानुमायाको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा पुरिएर घाइते भएका उनकै छोरा नौ वर्षीय राजकुमार श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ। उनकै छोरा ३ वर्षीय सन्तोष श्रेष्ठ फेला नपरेकाले वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले खोजी तथा उझार कार्य गरिरहेको छ।
यसैगरी पोखरा-११ भञ्ज्याङ नमुनाटोल बस्ने ४२ वर्षीय लक्ष नेपालीको घरमा बुधबार साँझ पहिरो जाँदा पहिरोमा पुरिएर उनको मृत्यु भएको छ।
पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा लक्ष र उनकै छोरी १४ वर्षीया सृष्टि नेपालीलाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएकोमा लक्षको उपचारका क्रममा मृत्यु भएको हो। घाइते भएका सृष्टि नेपाली उपचार पश्चात डिस्चार्ज भएकी छन्।
यसैगरी पोखरा-११ बसेरी बस्ने एकदेव तिमिल्सिनाको घरमा बुधबार राति पहिरो जाँदा तीनजना घाइते भएका छन्। पहिरोमा पुरिएर घाइते भएका उनीहरुलाई उपचारको लागि मणिपाल अस्पताल पठाएको छ।