जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय ५० लाई सेवा
हुम्ला, भदौ १६ : जिल्ला अस्पताल हुम्लामा भदौ १२ गतेदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ५० ले सेवा लिएका छन्। आँखा, नाक, कान,...हुम्ला, भदौ १६ : जिल्ला अस्पताल हुम्लामा भदौ १२ गतेदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ५० ले सेवा लिएका छन्। आँखा, नाक, कान, घाँटी र अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन भएको भएको थियो भने ती रोगबाट प्रभावित बिरामीले सेवा लिएका छन्।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोग तथा जिल्ला अस्पताल र सिमकोट गाउँपालिकाको समन्वयमा शिविर भएको हो। शिविरमा आँखा, नाक, कान, घाँटी र हातखुट्टामा समस्या भएका व्यक्तिलाई निःशुल्क औषधि उपचार गरिएको शिविर सञ्चालकका व्यवस्थापक जय लिम्बूले बताए।
शिविरमा जिल्लाका सातवटै गाउँपालिकाका सेवाग्राहीले सेवा लिएका छन्। चार दिनको अवधिमा दुई सय ९३ कान, दुई सय ९५आँखा, ४५ अपाङ्गता भएका व्यक्ति र अन्य १७ महिला, पुरुष एवम् बालबालिका गरेर जम्मा ६ सय ५० लाई सेवा दिएको व्यवस्थापक लिम्बुले बताए।
त्यस्तै आँखा, कान र अपाङ्गता भएका व्यक्ति गरेर १५ लाई काठमाडौं र नेपालगञ्ज पठाएको लिम्बूले बताए। थप उपचारका लागि जिल्लाबाहिर पठाइएका १५ जनाको उपचार खर्च गोर्खा वेल्फेयरले व्यहोर्ने भएको छ।
दुर्गम जिल्लाका बिरामी आर्थिक अभावका कारण जिल्लाबाहिर जान नसक्ने भएपछि टोली आएर शिविर सञ्चालन गरेको थियो। शिविरमा पाँच विशेषज्ञ चिकित्सक, २४ स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलीले सेवा दिएको थियो।
कान नसुन्नेलाई सभ नियन्त्रक, कान र आँखाको मोतीविन्दु शल्यक्रिया, अपाङ्गता भएका व्यक्तिहरूलाई फिजीयो थेरापीसँगसँगै कृत्रिम अङ्गसमेत प्रदान गरिएको लिम्बूले जानकारी दिए।