Kathmandu Press

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी फेरि आन्दोलित

कुस्मा,साउन ४ : पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरि विवाद शुरु भएको छ। 

....
तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी फेरि आन्दोलित
फाइल

कुस्मा,साउन ४ : पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरि विवाद शुरु भएको छ। 

सहमति विपरीत आयोजना प्रवर्द्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बीचमा विवाद शुरु भएको हो। कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा भएको सहमति उल्लंघन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन्। 

जिल्ला प्रशासन कार्यालयकोे पहल तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनका बीचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई  प्राथमिकता दिने सहमति भएपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य सञ्चालन भएको थियो। तर मोदी इनर्जी प्रालिले बिहीबार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्। 

जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुवातदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिष्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ। आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एकलाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो। 

अहिले २३ पदमा विज्ञापन खुलाइएपनि कार्यरत कर्मचारीले आवेदन दिन नसक्ने र सबैजसो पदमा प्राविधिक पद भएकाले सहमति उल्लङ्घन भएको कर्मचारी सौरभ पौडेलले बताए। रासस

प्रकाशित मिति: १२:११ बजे, शनिबार, साउन ४, २०७६