दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा वायु सेवा कम्पनीहरूको ‘कार्टेलिङ’
कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा खाद्य संस्थानको चामल ढुवानी गर्न ‘कार्टेलिङ’ गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनीहरूले त्यसलाई तोड्ने संस्थानको प्रयास सफल हुन नदिने प्रयास थालेका छन्।
काठमाडौं, भदौ १० : कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा खाद्य संस्थानको चामल ढुवानी गर्न ‘कार्टेलिङ’ गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनीहरूले त्यसलाई तोड्ने संस्थानको प्रयास सफल हुन नदिने प्रयास थालेका छन् ।
संस्थानमार्फत सरकारले बर्सेनि १५ लाख किलो चामल हुम्लामा पुर्याउँदै आएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालमा गाँसिन नसकेको हुम्लामा खाद्य संकट आउन नदिन सरकारले चामल ढुवानी गर्दै आएको छ । हुम्लामा चामल ढुवानीमा निजीक्षेत्रका वायुसेवा कम्पनीहरू समिट एयर, तारा एयर र सीता एयरको संंलग्नता रहिआएको छ ।
संस्थानले आह्वान गर्ने वार्षिक टेन्डरमार्फत यी वायु सेवा कम्पनीहरूले बोल–कबोल गरेको दररेटमा ढुवानी हुँदै आएको छ । यस वर्ष (आर्थिक वर्ष ०७८–७९)का लागि आह्वान गरेको टेन्डरमा खाद्य संस्थानले निजी एयरलाइन्सहरूलाई मात्र होइन, कार्गो कम्पनीहरूलाई समेत संलग्न हुन पाउनेगरी टेण्डर आह्वान गरेको छ । चामल ढुवानीमा कार्गो कम्पनीहरूलाई संलग्न हुन नदिन वायु सेवा कम्पनीहरूले अवाञ्छित तवरमा आफ्नो संघ र विभिन्न सञ्चार माध्यममार्फत उक्त टेन्डरको विरोध गरिरहेका छन् ।
‘हरेक वर्ष हामीले वायु सेवा कम्पनी र कार्गो कम्पनी सबैले भाग लिन पाउने गरेर नै टेन्डर आह्वान गर्दै आएका छौँ । तर, यसपटक सार्वजनिक खरिद ऐन, नियमावलीअनुरूप मूल्य अभिवृद्धी करमा दर्ता भएको हुनुपर्ने कुरालाई आधार बनाएको र एयरलाइन्सहरू मूल्य अभिवृद्धि करमा दर्ता हुन नपर्ने भएकाले उहाँहरू प्रत्यक्ष सहभागी हुन नपाइने भयो भनेर गुनासो गर्नुभएको हो,’ संस्थानका कामु नायब महाप्रबन्धक राजमणि खनालले भने, ‘हामीले सम्बन्धित निकायहरूमा छलफल र निर्देशन लिई उहाँहरूको हकमा त्यो नियम मात्र लागू नहुने गरी टेन्डर सूचना संशोधन गरिसक्यौँ ।’
जानकारहरूका भने खाद्य संस्थानले मूल्य अभिवृद्धि करको नियमलाई आव ०७८–७९ को टेन्डरमा अनिवार्य शर्तका रूपमा राख्नुको कारण यी वायु सेवा कम्पनीहरूले खाद्य संस्थानप्रति देखाउने हेपाहा दृष्टिकोणलाई कारण मान्छन् । ‘यी हवाई कम्पनीहरू जसरी पनि काम आफू ओगटेर बस्ने र आफ्नो सुविस्ताअनुसार मात्र काम गर्ने गर्छन् । यात्रु बोक्ने फ्लाइट पाएसम्म उनीहरू चामल बोक्ने कुरालाई ध्यान दिँदैनन्,’ नाम नखुलाउने शर्तमा खाद्यका एक उच्च अधिकृतले भने, ‘अझ कोरोनाकालअघि हामीले यो वायु सेवाका हाकिमहरूलाई हात जोडेर हाम्रो चामलको ढुवानी गरिदिनुप¥यो भनेर भन्नुपथ्र्यो । पर्यटकीय मौसममा सबै जहाज नेपालगञ्ज र सुर्खेत छाडेर काठमाडौंबाट लुक्लाको डलर उडानमा व्यस्त हुँदा महिनौँसम्म यी वायु सेवाका कारणले हुम्लामा खाद्यान्न संकट भइरहन्थ्यो । अहिले कोरोनाका कारण पर्यटन शून्यमा झरेकोले यी वायु सेवालाई खाद्य संस्थानको चामलको ढुवानी पनि आफ्नो व्यवसाय जीवित राख्ने मूख्य आधारका रूपमा छ ।’
यस विषयलाई नजिकबाट नियाल्दै आएका जानकारहरू भने खाद्य संस्थानले यसपटक यी एयरलाइन्सहरूसँग प्रत्यक्ष काम गर्न नखोजेको दाबी गर्छन् । यसो हुनुको कारण यी वायु सेवा कम्पनीहरूको खाद्यको चामल ढुवानीमा रहेको अघोषित कार्टेलिङ तोड्नु र यी कम्पनीहरूले दिने अनावश्यक राजनीतिक एवं प्रशासनिक दबाबबाट खाद्य संस्थान व्यवस्थापन मुक्त हुन खोजेको जानकारहरूको बुझाइ छ ।
खाद्य संस्थान स्रोतका अनुसार कुनै पनि कार्गो कम्पनीले टेन्डरमा भाग लिन आफूले ढुवानी गर्न प्रयोग गर्ने एयरलाइन्सको करार वा सहमति पत्र पेश गर्नुपर्छ । तर, यी एयरलाइन्सहरूले त्यस्ता कार्गो कम्पनीहरूलाई सहमति नदिई तीन एयरलाइन्सबीच नै कार्टेलिङको व्यवस्था मिलाएर दररेटमाथि एकछत्र नियन्त्रण गर्दै आइरहेको जानकारहरू बताउँछन् ।
खाद्य संस्थानले हुम्लाको चामलको ढुवानी ठेक्का नेपालगज र सुर्खेत विमानस्थलहरूलाई आधार बनाई तोक्ने गर्छ । तारा, समिट र सीता एयरले हरेक वर्ष आपसमा भागबण्डा मिलाई मिलेमतोमा टेन्डर कबोल गर्दै आएको पाइन्छ । यी तीन कम्पनीले आपसमा चामलको परिमाणलाई भागबण्डा गरी तदअनुरूप नेपालगञ्ज र सुर्खेत दुवै सेक्टरमा एउटै दरभाउ राखेर टेन्डर भर्ने गरेको पाइन्छ ।
त्यसरी एउटै रेटमा टेन्डर भरी योजनाबद्ध तवरमा एकले अर्कोलाई छोडिदिने सहमति पत्र खाद्यलाई उपलब्ध गराउने र पालैपालो टेन्डर लिने एयरलाइन्सले अरू दुईवटालाई खाद्य संस्थानबाट चामल उपलब्ध गराउने परिपाटी चलिआएको देखिन्छ । यस्तो गर्दा तीनवटै एयरलाइन्सले ढुवानी गर्न पाउने र तीनवटै कम्पनीले ढुवानी गर्दा कामसमेत छिटो सक्नेजस्तो देखिए पनि यही मिलमतोका कारण यी एयरलाइन्सहरूले दररेटलाई आफ्नो नियन्त्रणमा राखी प्रतिस्पर्धात्मक टेन्डरको औचित्यलाई वर्षौँदेखि समाप्त पारी कार्टेलिङ गरिआएको प्रष्ट बुझिन्छ ।
उदाहरणका लागि आव ०७६–७७ मा सुर्खेतदेखि हुम्ला विमानस्थलसम्मका लागि तारा एयरले कबोल दर प्रतिकिलो ११२ रुपैयाँ ८० पैसा तोकेको थियो भने समिट एयरले ११३ रुपैयाँ तोकेको थियो । यस्तै, आव ०७७–७८ मा सुर्खेतकै परिमाणका लागि तारा एयरले १११ रुपैयाँ ५० पैसा कबोल गरेको देखिन्छ भने समिट एयरले समेत १११ रुपैयाँ ५० पैसा नै कबोल गरेको देखिन्छ । आव ०७७–८८ मा नेपालगञ्जबाट ढुवानी गरिने हिस्साका लागि प्रतिकिलो तारा एयरले ११३ रुपैयाँ ५० र सीता एयरले पनि ११३ रुपैयाँ ५० पैसा बोल कबोल गरेका थिए ।
आव ०७५–७६ मा नेपालगञ्जबाट तारा एयर र समिट एयर दुवैले प्रतिकिलो ११४ रुपैयाँ नै कबोल गरेका थिए । यी दुवै एयरलाइन्सले सुर्खेतबाट सोही आर्थिक वर्षका लागि १०५ रुपैयाँ प्रतिकिलो कबोल गरेका थिए ।
यी तीनै एयरलाइन्सले तीन भिन्न तौल क्षमताका जहाज सञ्चालन गर्छन् । यसरी एउटै दररेटमा हरेकपटक टेन्डर भर्नुले यी वायु सेवा कम्पनीहरूले खाद्य संस्थानलाई कसरी कार्टेलिङको शिकार बनाइरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
यसपटक आव ०७८–७९ का लागि खाद्य संस्थानले यी वायु सेवा कम्पनीबाहेकका छुट्टै कार्गो कम्पनीले ठेक्का पाउन् भन्ने उद्देश्यले टेन्डर तयार पारेको संस्थानको एक उच्च स्रोतले बताएको छ । एक उच्च अधिकारी भन्छन्, ‘कार्टेलिङ तोड्न खोज्दा हामीमाथि विभिन्न सञ्चार माध्यममार्फत भए–नभएका आरोप लगाउन खोजिँदै छ । तर, हामी आफ्नो क्षेत्राधिकारभित्र रही नियमसंगत तरिकाले काम गरिरहेका छौँ ।’
यसबीचमा वायु सेवा सञ्चालक संघको नाममा आएका वक्तव्यहरू प्रति संस्थानका अधिकारीहरू आपत्ति जनाउँछन् । र, वर्षौँदेखि यी एयरलाइन्सले गरिरहेको कार्टेलिङमाथि सम्बन्धित निकायले सूक्ष्म अनुसन्धान हुनुपर्ने बताउँछन् ।












