तिब्बतमा बस्छन् करिब पाँच सय नेपाली, अधिकांशको हातमा ‘ग्रिनकार्ड’
ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकालका अनुसार अहिले चीनको स्वशासित क्षेत्र तिब्बतमा करिब पाँच सय नेपाली बसोबास गर्छन्। उनीहरूमध्ये अधिकांश व्यापारी छन्।
काठमाडौं, भदौ १० : एक समय थियो, काठमाडौं उपत्यका सीधा तत्कालीन मुलुक तिब्बतसँगको व्यापारमा थियो। खासगरी, लिच्छवी कालमा नेपाल-तिब्बत व्यापार उत्कर्षमा थियो। र, त्यो व्यापार नेपालको पक्षमा थियो, तिब्बत सधैँ घाटामा।
जमाना बदलियो, नेपाल अहिले तिब्बतसँगको व्यापारमा निर्भर छैन। तैपनि, नेपाली व्यापारीले तिब्बत छाडेका छैनन्। कोही पुख्र्यौली पेशामै आबद्ध छन् त कोही पछि गएर पनि व्यापारमै आबद्ध छन्।
ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकालका अनुसार अहिले चीनको स्वशासित क्षेत्र तिब्बतमा करिब पाँच सय नेपाली बसोबास गर्छन्। उनीहरूमध्ये अधिकांश व्यापारी छन्। र, व्यापारमा संलग्न नेपाली लामो समयदेखि तिब्बतका विभिन्न सहर र बजार क्षेत्रमा बसोबास गर्दै आएका छन्।

करिब एक सयजना स्टिलका कामदार, रेस्टुराँ र होटेलमा कुक, ब्युटिसियन र सुनका गरगहना बनाउने कालीगढ छन्। ‘ल्हासा, पुरन, सिगात्से, केरुङलगायत स्थानमा नेपालीको बसोबास छ,’ ढकालले काठमाडौं प्रेससँग भने।
उनका अनुसार तिब्बतमा बसोबास गरिरहेका अधिकांश नेपाली त्यहाँको ग्रिनकार्ड होल्डर छन्। त्यसबाहेक कोही-कोही ‘फ्यामिली भिसा’मा बसेका छन्। र, अन्य कोही भिसा र बिजनेस भिसामा बसिरहेका छन्।
नेपाल-चीन व्यापार र कूटनीतिक सम्बन्धका विविध आयाम खोतलेका ‘अल रोड्स लिड नर्थः नेपाल्स टर्न टु चाइना’का लेखक अमिशराज मुल्मीको भनाइमा नेपाल-तिब्बत व्यापार परापूर्वकालकै हो। पछिल्ला केही दशकमा नेपाल-तिब्बत व्यापार घट्दै आएको छ। खासगरी, सन् १९५० को दशकपछि तिब्बतसँग नेपालको व्यापार कम हुँदै आयो।
तिब्बतमा चीनले आन्तरिक सुरक्षाको मामिला सामना गर्नुपर्यो। तिब्बतमा विद्रोह उत्पन्न भयो। त्यस विद्रोहले व्यापारबाट सुरक्षा मामिलातर्फ चीन मोडिन पुग्यो। र, सीमा नियन्त्रणको नीति अख्तियार गर्यो। यस्तै, सन् १९६२ मा भारत र चीनबीच सीमायुद्ध भयो। त्यसपछि चीनले आफ्नो सीमामा अझ कडाइ अपनायो।
ती कारणले काठमाडौं-ल्हासा मात्र होइन, नेपालका हिमाली जिल्लाबाट तिब्बती भेगमा हुने व्यापार पनि ठप्प हुन पुग्यो। एक समय थियो, सोलुखुम्बूका शेर्पा र मुस्ताङका थकालीहरू तिब्बतसँगको व्यापारमा थिए। तिब्बतबाट नुन र सुन आउँथ्यो, नेपालबाट खाद्यान्न निर्यात हुन्थ्यो।
कठिन हिमाली भञ्ज्याङहरू छिचोल्दै यो व्यापार सदियौँदेखि चलेको थियो। सन् १९६० सम्म आइपुग्दा यो व्यापार अन्त्यतर्फ रहेको मुल्मीको भनाइ छ। ‘यो व्यापार सुरु कहिले भएको थियो, यकिन तिथि मिति भेटिँदैन किनकि यो परापूर्वकालदेखि चलेको थियो,’ मुल्मीले भने।
उनका अनुसार एकजना रिसर्चरले सन् २०११ मा हुम्लामा तिब्बततर्फबाट खच्चरको हुल हाँक्दै आइरहेका व्यापारी फेला परेको उल्लेख गरेका छन्। अर्थात्, पछिल्ला दशकमा पनि यो व्यापार छिटफुट रूपमा जारी थियो। हुम्लाको विकट लिमी उपत्यका अब मानिस पुग्नै नसक्ने दुरुह क्षेत्र रहेन। कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सकिने नयाँ गन्तव्यका रूपमा लिमी उपत्यका पछिल्ला दिनमा चर्चामा छ।

हुम्लाको हिल्साबाट बर्सेनि व्यापार र काम गर्न जाने नेपाली पनि उल्लेख्य छन्। त्यसको यकिन संख्या भने उपलब्ध छैन।
०७६ सालको ल्होसारमा स्वदेश फर्केका कतिपय नेपाली तिब्बत जान पाएका छैनन्। किनकि, कोरोना महामारी सुरु भएयता चीनले विदेशी नागरिकको आवागमनमा लगाएको रोक खोलेको छैन। तातोपानी र रसुवागढी नाकाबाट नेपाल-चीन व्यापारमा संलग्न प्रगेश श्रेष्ठका अनुसार त्यसरी नेपालमै अड्किएका नेपालीको यकिन तथ्यांक उपलब्ध छैन। तर, तीमध्ये अधिकांश तिब्बतमा ब्युटिसियन, कुकलगायत काममा आबद्ध थिए। उनका अनुसार नेपालबाट घुम्न जाने पर्यटकका लागि दोभाषेको काम गर्ने नेपाली पनि तिब्बतमा भेटिन्छन्।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
