Kathmandu Press

भीमसेन मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

ललितपुर, ९ भदौ : पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प...
भीमसेन मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

ललितपुर, ९ भदौ : पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। 

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा परेका थिए।

निर्माणाधीन मन्दिरमा गारो लगाउने काम पूर्णरुपमा सकेर माथिल्लो तलामा छाना छाउने काम भइरहेको ललितपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले बताए। उनले भने, ‘भुइँबाट दुई तलामाथि झिङ्गटीको छाना छाउने भएकाले समयमै सामग्री प्राप्त भएमा र कोरोना महामारीको जोखिम बढेर बन्दाबन्दी भएन भने अब आउँदो असोजसम्म मन्दिर पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य लिएका छौं ।’ मन्दिरको सबैभन्दा माथि ३०० वर्ष पुरानो सुन लेपन गरिएको तामाकै छाना सफा गरी पुनः प्रयोग गरिने भएको महर्जनको भनाइ छ। 

Hardik ivf

मन्दिरको माथिल्लो तलामा काठ हाल्ने काम अबको एक हप्तामा सम्पन्न हुने सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताए। उनले भने, ‘मन्दिरको पुरानै गजुर प्रयोग गर्न मिल्ने भएकाले यसलाई फेरि हाल्ने भएका छौँ।’ प्राचीन शैलीमा निर्माणाधीन मन्दिर सम्पन्न भएपश्चात सरसफाइ गरी माथिदेखि स्काफोल्डिङ झिक्दै आउने योजना बनाएको श्रेष्ठको भनाइ छ। 

हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले दाबी गरे। मन्दिर पुनःनिर्माणका लागि दाताबाट लगभग रु पाँच करोड चन्दा सङ्कलन भइसकेको निवर्तमान अध्यक्ष महर्जनको भनाइ छ। 

भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ स्थायनीयवासी आफैँ जुटेर चन्दा सङ्कलन गरी मन्दिरको काम अघि बढाइरहेका छन्। सो मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएकामा अब केही रकम थप हुने भएको बताइएको छ। 

मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ। चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रूपमा प्यागोडा शैलीमा निर्माण भएको थियो।

मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने र मर्मतपछि पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकार र मन्दिरलाई चाहिने डाँची  र इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी अनि तीर्थलाल महर्जनले उपलब्ध गराउने प्रतिबद्धताअनुरुप सहयोग गरिरहेका सङ्घले जानकारी गराएको छ।

भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५ औँ कला नगरी घोषणा गरिसकेको छ। पाटनका प्रसिद्ध धरोहरका रूपमा सो लगायत कृष्ण मन्दिर, चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदि रहेका छन्। पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो।

उक्त मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौँ स्वदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण मन्दिर पुनःनिर्माणमा ललितपुरवासी स्वयं अग्रसर भएका सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी दिए। मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी( ले लिएको छ भने नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाजलगायत विभिन्न सङ्घसंस्थाले समेत लागि परेका छन्। पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीको छ। 

पाँच पाण्डवमध्येका माइला भाइ भीमसेनलाई नेवार समुदायले आराध्य देवका रूपमा पुज्ने गरेको छ। भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास पाटनका व्यवसायीमा रहेको छ।  
 

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्