Kathmandu Press

सुरु भयो भक्तपुरमा ‘साँपारु’ 

भक्तपुर, भदौ ७ : दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य...
सुरु भयो भक्तपुरमा ‘साँपारु’ 

भक्तपुर, भदौ ७ : दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाईजात्रा (साँपारु) पर्व मनाईंदैछ।

भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ। सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो।  साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ। पर्वका पूर्वसन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाँचले नगर परिक्रमा गरेसँगै यहाँ साँपारु पर्व सुरु हुने परम्परा छ। 

यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायले जनाएका छन्।  यसैका कारण आइतबार साँझ गाईजात्रा घिन्ताङघिसी नाँच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ।    दरबारस्क्वायरस्थित तलेजु भवानीको साँया ९गाईजात्रा० निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ। सोअनुसार आज बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

Hardik ivf

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ। यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाँच हो। यससँगै दिवङ्गतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा जिल्लामा मनाइने गाईजात्राको अर्को आकर्षण हो। यसैले यहाँ गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौँ मानिस आउने गर्दछ।

धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाँच करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा बाजाका तालमा जुधाएर नाँचिने नाँच हो। यो नाँच समूहमा नाँचिने नाँच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ। तहामचा बाँसबाट बनाइन्छ। हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ। तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ। यसलाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ। यसमा मृतकको तस्विरसमेत राखिन्छ। यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ। यसलाई नगरपरिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधानअनुसार पूजा गर्ने प्रचलन छ। 

भक्तपुर कै तालाकोस्थित कुमालेले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराइन्छ। कुमालेको पुर्ख्यौली पेशा माटोका भाडा बनाउनु हो। यसैले उनीहरुले आफ्नै मौलिक पुर्ख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए। गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिलासमेत प्रदर्शन गरिन्छ। साथै केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलनसमेत छ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ। गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो। राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन। मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको उनले बताए। नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठको भनाइ छ।

उनी गाईजात्रा नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको दाबी गर्छन्। ुयो जात्रा प्रताप मल्लले चलाएको भन्ने कुरा सत्य होइन। मल्लहरुका पूर्वज जयस्थिति मल्ल हुन्। जयस्थिति मल्ल प्रतापमल्लभन्दा तीन सय वर्ष अधिका उनका पूर्वज हुन्। जयस्थिति मल्लको पालामा लेखिएको प्रसिद्ध गोपालराजवंशावली ग्रन्थमा साँयात शब्दको उल्लेख छु, उनले भने, 'साँ को अर्थ हो गाई र यात को अर्थ हो यात्रा वा जात्रा। यस प्रमाणका आधारमा जयस्थिति मल्लको पालामै गाईजात्रा मनाइन्थ्यो भन्ने कुरा थाहा पाइन्छ।'

लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्छ भन्ने मान्न सकिने उनको भनाइ छ। उनले १४ औँ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधारहरु भएको जानकारी दिए। प्रताप मल्लकी रानी पुत्र वियोगको शोकमा डुबेकाले रानीको मन शान्त पार्न सो बेलादेखि गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न थालिएको हुन् सक्ने संस्कृतिकर्मीको मत रहेको छ।

भक्तपुरमा साँपारु पर्व तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएकोसंस्कृतिविद् हरिशरण राजोपाध्यायले जानकारी दिए। 'भक्तपुर तन्त्र विद्यायुक्त शहर हो। यहाँका हरेक सांस्कृतिक परम्परा तान्त्रिक विधि पूर्वक मनाइन्छु,' उनले भने, 'भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ सापारु मनाइन्छ।'

भक्तपुर नगर तन्त्रका आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासाँ, दोसाँ, महादेव पार्वती, बासा लाकेगुलगायत गरी नगरपरिक्रमा गराइने परम्परा रहेको राजोपाध्यायले बताए। त्यसका साथै यहाँ राधाकृष्णको प्रतिक नागाचा प्याखं, देवी प्याखं, भैल प्याखं, माकचा प्याखं, लाखे प्याखं, लगायत विभिन्न नाँच प्रदर्शन गरिन्छ। 

साँपारुको दिन मध्य रातमा तलेजुको ताहासाँले नगर परिक्रमा गरेर साँपारु सुरु गरिन्छ भने अन्तमा महादेव र पार्वतको प्रतीकका रुपमा परालको भैरव र नकीजु अजिमाको ताहासाँ बनाएर महादेवको गणहरुको प्रतीक घिङताघिसी लाने गरेको उनले बताए। 'जात्रा एउटा शिवशक्तिको प्रतीकका रुपमा पनि लिइन्छ। नगर परिक्रमा गर्दा पाइला पाइलामा भएका दैविक शक्तिले मृतकको आत्मा शान्त गराइन्छ। यी सबै काठमाडौँ र पाटनको भन्दा निकै फरक र पृथक छु,' उनले भने।

गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाए पनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको उनले बताए। 'पाटनमा दशमहाविद्या तन्त्र भएर पनि त्योअनुसारको जात्रा मनाउँदैन। सामाजिक विकासको क्रममा काठमाडौँ पाटनमा त्यो विस्थापित हुँदै गएकाले यहाँको जस्तो नमनाएको हो,' उनले भने। कोरोना सङ्क्रमणको जोखिमका कारण यस वर्ष गाईजात्रा पर्व दिउँसो नै समापन गर्ने तयारी भएको भैरव नाइके माइला छुकांले जानकारी दिए। भक्तपुरमा भैरवनाथको साँया निकालेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ। गुठी संस्थान, नगरपालिका र सरोकारवालाको बैठकले यस वर्ष दिउँसो २ बजे नै भैरवको ताहासाँ निकालेर नगर परिक्रमा गर्ने तयारी भएको छुंकाले बताए।

भक्तपुरमा यो पर्वका अवसरमा भाद्रकृष्ण अष्टमीसम्म सहरका देवीदेवता दत्तात्रय, भैरव, भीमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ। गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाँच, भैरव नाँच, लुसिचा प्याखंलगायतका नाँच प्रदर्शन गर्ने प्रचलन रहेको छ तर यस वर्ष कोरोनाका कारण ती नाँचको प्रदर्शनलाई स्थगित गरिएको छ। रासस

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्