खाँदबारीका ४७ महिला उपभोक्ता समिति पुरस्कृत
सङ्खुवासभा, साउन ३२ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले ४७ वटा महिला उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ।नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा गठन भएर समयमै योजना...
सङ्खुवासभा, साउन ३२ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले ४७ वटा महिला उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ।
नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा गठन भएर समयमै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समितिलाई योजनाको कूल रकमको ३ प्रतिशत रकमले पुरस्कृत गरेको खाँदबारी नगरपालिका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए।
घरका चुलोचौको र घरयासी काममा मात्र सीमित हुने महिलालाई विकास निर्माणमा सहभागिता गराउन नगरपालिकाले महिला उपभोक्ता समितिलाई पुरस्कृत गरिएको नगरप्रमुख खतिवडाले बताए।
गत वर्षको नगरसभाले समय अवधि भन्दा अघि नै निर्माण सम्पन्न गरेका महिला उपभोक्ता समितिलाई पुरस्कृत गर्ने निर्णयअनुसार पुरस्कृत गरेको नगरप्रमुख खतिवडाको भनाइ छ ।
खाँदबारी नगरपालिकाका ४६९ योजनामध्ये ४७ योजना महिला उपभोक्ता समितिमार्फत सम्पन्न भएका थिए। महिला उपभोक्ता समितिमार्फत सडक ढलान, धाराकुवा निर्माण, सोलिङ, तथा नाली निर्माण, विद्यालय भवन निर्माण र कुलोसहितका योजना निर्माण भएको खाँदबारी नगरपालिकाले जनाएको छ।
महिलाले पनि पुरुषले जस्तै चुलोचौको छाडेर विकास निर्माण गर्न सक्ने खाँदबारी–३ गुवाबारी अमृतेश्वर मन्दिर निर्माण उपभोक्ता समितिकी अध्यक्ष भुमादेवी पाण्डे खत्रीले बताइन्।
सुरुका दिनमा काम गर्ने केही असहज भए पनि निरन्तर काम गरेर समय अवधिमै योजना सम्पन्न गरेर पुरस्कृत हुँदा खुशी लागेको अध्यक्ष खत्रीले बताइन्।
महिला उपभोक्ता समितिमार्फत बनेको योजना गुणस्तरीय र पारर्दर्शी भएको खाँदबारी–१ सडक मर्मत योजनाकी सचिव गोमा थापाले बताइन्।
महिला मात्रै भएका उपभोक्ता समितिमा आर्थिक अनियमितता समेत नहुने र समयमा काम सम्पन्न हुने भएकाले यसलाई प्रोत्सानस्वरुप पुरस्कृत गर्ने कार्यक्रम राखिएको नगरप्रमुख खतिवडाले बताए।












