Kathmandu Press

वर्षाको कारण धनगढी जलमग्न

धनगढी, साउन २९ : गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ। मुख्यगरी धनगढी –३ को विशालनगर,...
वर्षाको कारण धनगढी जलमग्न
Hardik ivf

धनगढी, साउन २९ : गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ। मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर,  वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं. १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रहरी सो क्षेत्रमा गई घर भित्रका सरसामान, खाद्यान्न लगायतका सामाग्रीहरु बाहिर निकालिएको बताए। उनले धनगढीका अन्य बस्तीका घर तथा पसलमा पनि पानी पसेको बताए। हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गएको वडा नं. २ का वडाध्यक्ष नगरबहादुर बलले बताए। धनगढी– २ शिखर टोलका स्थानीय रामदत्त भट्टले बस्तीका कतिपय घर भित्र पानी पसेको र वर्षाले बाटोघाटो पूरै जलमग्न भएपछि आवतजावतमा समस्या भएको बताए। 

पानी निकास हुने ढलको व्यवस्थापन नभई सडक कालोपत्रे हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेकाले डुबानबाट सुरक्षित रहन नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ। यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडक पनि जलमग्न भएका छन्। धनगढीको छ लेन सडक र अर्कोतिर रिङ रोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको हो। उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने क्रम बढ्दै गएको छ।

प्रकाशित मिति: २०:३० बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्