गण्डकीमा थप ५७७ जना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं, साउन २५ : गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा गरिएको नमूना परीक्षणमा ५७७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २८७ महिला र २९० जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कास्की १९६, बागलुङ ६०, स्याङ्जा ८६, म्याग्दी ७, पर्वत ५, गोरखा ४९, लमजुङ ६२ तनहुँमा १३ र नवलपुरमा ९८ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ६२८ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४१ जना पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ६५ हजार ५९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ४२७ रहेको छ ।
गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८९६ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।