नेवापस र काठमाडौं विश्वविद्यालयबीच सात बुँदे समझदारी
काठमाडौं, साउन १५ : नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच आज विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्य सम्बन्धी सात बुँदे समझदारी पत्रमा हस्ताक्षर...काठमाडौं, साउन १५ : नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच आज विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्य सम्बन्धी सात बुँदे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा उक्त समझदारी भएको हो । विश्वविद्यालय र यस अन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पुर्याउने मुख्य लक्ष्यका साथ यो समझदारी भएको हो ।
समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत आफ्नो भूमिका निर्वाह गर्नेछ । साथै विश्वविद्यालयले पनि आफुले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरु समूहलाई उपलब्ध गराउनेछ । ती सामग्रीहरु सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउने छ । अन्य स्रोतहरुको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ ।
यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरुमा दुई संस्थाले संयुक्त रुपमा राष्ट्रिय बहसका कार्यक्रमहरु पनि गर्नेछन् । हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताए । नेपाल वातावरण पत्रकार समूह ३५ बर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरुको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ बर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था पनि हो ।
समझदारी पत्रमा हस्ताक्षर गरेका प्रा. डा. सुबोध शर्माले भने, ‘आजबाट दुई संस्था एउटै परिवार भएका छौं । हामीले हामी भन्दा परिपक्व र जेठो संस्थास‘ग समझदारी गरेका छौं । केयुले नेफेजबाट धेरै आशा गरेको छ ।’ उनले काठमाडौ विश्वविद्यालयलाई अनुसन्धानमा अग्रणी शैक्षिक संस्थाको रुपमा चिनाउन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस बिश्वकर्माले अध्ययन/अनुसन्धानलाई जनतासम्म पुर्याउने मुख्य लक्ष्यका साथ समझदारी गरिएको बताए ।
अध्ययन/अनुसन्धानलाई आम नागरिकले बुझ्ने गरी जनतामाझ पुर्याउन आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । समूहले आफ्नो श्रव्यदृश्य कार्यक्रम आँखिझ्याल, रेडियो सगरमाथा, अनलाइन तथा छापामाध्यममार्फत् विश्वविद्यालयका गतिविधीलाई सार्वजनिक गर्ने उन‘ले जानकारी दिए ।











