पूर्वसांसद सिंहको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, साउन १५ : दार्चुलाका पूर्वसांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएकामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “पूर्वसांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै, उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु” ।
पूर्वसांसद सिंहको आज काठमाडौंको तिलगङ्गामा निधन भएको हो । दार्चुला जिल्ला मार्मा गाउँपालिका–५ निवासी स्वर्गीय सिंह विसं २०४८ मा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको गरेका थिए ।
उनी सामाजिक क्षेत्रसमेतमा क्रियाशील रहँदै आएका थिए। उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ । यस्तै नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल गौतमले पनि एक बिज्ञप्ति जारी गर्दै असामयिक दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको बताएकी छिन् ।











