मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई युवती पक्राउ

पर्सा, साउन १४ : प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ। उनीहरू वीरगंज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार पक्राउ परेका हुन्।
पक्राउ पर्नेहमा झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका–१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको थियो।
थप अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगंजमा अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगंज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको छ।
उनीहरु उपर जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप गरी मानव बेचबिखन कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उक्त घटनामा संलग्न हाल फरार अन्य तीनजनाको खोजी भइरहेको प्रहरीको भनाइ छ।











