तीन दिनभित्र कर तिर्न काठमाडौं महनगरको माइकिङ
काठमाडौं, साउन १३ : काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ। महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना...
काठमाडौं, साउन १३ : काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ।
महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ।
आज कर नबुझाएका करदाताहरुको क्षेत्रमै पुगेर महानगरपालिकाले माइकिङ गर्दै कर तिर्न निर्देशन दिएको छ।
पटक–पटकको अनुरोधलाई पनि अटेरी गरेपछि बाध्य भएर महानगरले सार्वजनिक रुपमै माइकिङ गनुपरेको जनाएको छ।
महानगर राजस्व विभागका अनुसार नाम चलेका व्यवसायिक संस्थान, मेडिकल कलेज, अस्पताल, व्यवसायिक मलसम्म रहेका छन् ।
महानगरका अनुसार नेपाल रेडक्रस सोसाइटी र कृषि सामग्री संस्थानसम्मले पनि कर तिरेका छैनन् । कर नतिर्नेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन आरटी क्लव, यूनाइटेड वल्र्ड सेन्टर, बाग्मती च्याम्बर, बुद्धवारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्पलेक्स लगायत छन् ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी, कृषि सामाग्री संस्थान, एलआर आइ बोर्डिङ स्कुल स्यूचाटार, मनमोहन मेमोरियल कलेज, एण्ड शिक्षण अस्पताल, आरवी कम्पलेक्स, सुरज आर्केट, शुभश्री को–अपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी पोपटिज प्रालि र स्टार मलले पनि कर बुझाएका छैनन्।
माइकिङ गर्दै महानगरपालिकाले तीन दिनभित्र कर तिर्न आग्रह गरेको छ। प्रहरीसहित करदाताका कार्यालयमै पुगेको महानगरपालिकाले सूचना टाँस पनि गरेको छ।
कर नबुझाएका यी करदाताबाट ७० करोडभन्दा बढी राजस्व उठ्न बाँकी रहेको राजस्व विभागले जनाएको छ।











