१७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई भने–विग मर्जरका लागि तयार छौँ
काठमाडौं, असार २३ : राष्ट्र बैंकको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाहरुको मर्जरका लागि प्रारम्भिक प्रस्ताव धमाधम पठाउन थालेका छन्। <....

काठमाडौं, असार २३ : राष्ट्र बैंकको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाहरुको मर्जरका लागि प्रारम्भिक प्रस्ताव धमाधम पठाउन थालेका छन्।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गत साता बैंक तथा वित्तीय संस्थाहरुलाई दुई साताभित्र मर्जरमा जानका लागि उपयुक्त प्रस्ताव पेश गर्न दिएको निर्देशनसँगै यतिबेला बैंकहरु विग मर्जरका लागि तयारीमा जुटेका हुन्।
मौद्रिक नीति आउनु अघि नै मर्जरको प्रस्ताव पेश गर्न गभर्नर नेपालले निर्देशन दिएका थिए। सोही अनुसार आइतबारसम्ममा १७ वटा वाणिज्य बैंक तथा तीन वटा विकास बैंकले मर्जरको प्रस्ताव पेश गरेका छन्।
विकास बैंकमध्ये २ वटा राष्ट्रियस्तरका छन् भने एउटा क्षेत्रीय स्तरका रहेको राष्ट्र बैंकले जनाएको छ। यो क्रममा आगामी असार २७ गतेसम्म रहने छ। २८ वाणिज्य बैंकमध्ये १७ बैंकले प्रस्ताव पेश गरेका छन्। राष्ट्र बैंकको निर्देशनको पालना गर्दै मर्जर सम्झौता गर्ने तथा मर्जरका लागि तयार रहेको भन्दै लिखित प्रतिबद्धता व्यक्त गर्ने बैंकहरुको संख्या २० पुगेको छ।
आगामी आर्थिक वर्ष २०७६÷७७ बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गरिने विषय उल्लेख गरेका थिए। सोही नीतिअनुसार राष्ट्र बैंक यतिवेला आक्रामक रहेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मर्जरका लागि असिमित समय दिन नसकिने बताए। उनले बैंकका सिइओ र सञ्चालकहरुकै सुझावका आधारमा राष्ट्र बैंकले मर्जरको नीति लिन लागेको समेत स्पष्ट पारे। राष्ट्र बैंकको भवन शिलान्याश कार्यक्रममा नियमकलाई सहयोग गर्न आग्रह समेत गरे। ‘हिजो तपाईँँहरुले नै मर्जर आवश्यक पर्ने भन्दै लेखेर सुझाव पठाएको हो, अहिले मर्जर नीति ल्याउन लाग्दा भने अस्वभाविक विरोध जस्तो देखिएको छ,’ नेपालले भने।
विग मर्जरको चर्चा चुलिएका बेला ग्लोबल आईएमई बैंक र जनता बैंकले सार्वजनिक कार्यक्रम नै गरेर मर्जरको सम्झौता गरिसकेका छन्। जनता बैंकलाई १०० ः ८५ को सेयर स्वाप अनुपातमा गाभ्ने सम्झौता गरेको ग्लोबल आईएमई बैंक अन्य वाणिज्य बैंकसँग पनि मर्जरको छलफलमा अझै सक्रिय छ। अन्य ठूला बैंकहरुले पनि मर्जरका लागि विभिन्न समितिहरु बनाएर छलफललाई तीव्र पारेका छन्।
आइतबारसम्म सनराइज बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, एनआइसी एशिया, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोवल आइएमइ, जनता र एनएमबी बैंकले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता पेश गरेका छन्।
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले मर्जरको विषय सकारात्मक भएपनि केही समय भने लाग्ने बताए। ‘नविल बैैंकले नेपालका वा अन्य विदेशी साझेदार पनि भित्र्याउन तयार छ, तर प्रयाप्त समय आवश्यक पर्छ,’ सिइओ शाहले भने।
राष्ट्र बैंकको नीति अनुसार मेगा, सिभिल र सेञ्चुरी बैंकबीच पनि मर्जरको सम्झौताका विषयमा छलफल भइरहेको जनाइएको छ। विग मर्जरको नीति अनुसार सेञ्चुरी बैंक मर्जरको सम्झौताको तयारीमा छ।
त्यसैगरी, हिमालयन र कुमारी बैंकबीच पनि मर्जर सम्झौता हुनसक्न सक्ने जनाइएको छ। माछापुच्छ्रे बैंक र सानिमा बैंकबीच समेत मर्जरको सम्भावनाका विषयमा छलफल तीव्र पारिएको जनाइएको छ। नेपाल एसबीआई बैंकले समेत मर्जरको लागि प्रतिवद्धता जनाएको छ।










-1754206481.jpg)
