जसपाको यादव पक्षमा ३४ कार्यकारिणी सदस्य, ठाकुर पक्षमा १६ मात्र (नामसहित)
निर्वाचन आयोगले सोमबार गरेको ‘हेड काउन्ट’मा जसपा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य उभिएका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरेका छन्।
काठमाडौं, साउन ११ : निर्वाचन आयोगले सोमबार गरेको ‘हेड काउन्ट’मा जसपा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य उभिएका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरेका छन् ।
महन्थ पक्षले केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत पुर्याउन सकेन । महन्थको पक्षमा ३१ दशमलव ३७ प्रतिशत कार्यकारिणी समिति सदस्य मात्र देखिएका छन् । सोही कारण राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ बमोजिम पार्टी विभाजन गर्ने सुविधाबाट महन्थ पक्ष वञ्चित भएको छ ।
उक्त उपदफामा भनिएको छ, ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’
सोमबार भएको ‘हेड काउन्ट’ अनुसार उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित भएको छ । संघीय संसदीय दलमा यसअघि नै यादवको पक्षमा बहुमत सांसद देखिइसकेका छन् । आफ्नो पक्षमा कमजोर उपस्थिति हुने देखेपछि ठाकुरले सर्वोच्च अदालतमा ‘हेड काउन्ट’ रोक्न माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले पनि उनको निवेदन अस्वीकार गरेको छ ।
यादव पक्षमा यादव, डा. बाबुराम भट्टराई, अशोक राई, राजकिशोर यादव, मनिष सुमन, अमृता अग्रहरी, महेन्द्रप्रसाद यादव, मोहम्मद इस्तियाक रायी, गोविन्द चौधरी, डम्बरुबल्लभ खतिवडा, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रामनरेश यादव, नवलकिशोर साह, भक्तबहादुर शाह, दुर्गा सोप, मृगेन्द्रकुमार सिंह, युवराज कार्की, परशुराम बस्नेत, मोहम्मद लालबाबु राउत, विजय यादव, रनध्वज कन्दङ्वा, रामसहाय यादव, नवराज सुवेदी, राजेन्द्रप्रसाद श्रेष्ठ, पर्शुराम खापुङ, रकम चेम्जोङ, प्रकाश अधिकारी, गजाधर रोहिता यादव, सुशीला श्रेष्ठ, रमेशप्रसाद यादव, रेणुकुमारी यादव, हेमराज राई र प्रशान्त सिंह उभिएका छन् ।
यस्तै, ठाकुरको पक्षमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, बृषेशचन्द्र लाल, उमाकान्त झा, केशव झा, चन्दा चौधरी, अकवाल अहमद, जितेन्द्र सोनल, निर्जला राउत, लक्ष्मणलाल कर्ण, सुनील रोहित, राजकुमार लेखी र दानबहादुर विश्वकर्मा मात्र उभिएका छन् ।