Kathmandu Press

निगमको एक उडान शवका लागि

काठमाडौं, साउन १० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली...
निगमको एक उडान शवका लागि

काठमाडौं, साउन १० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट  नेपाली नागरिकको शव ल्याइरहेको छ।

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित राजदूतावासको आग्रहमा महिनामा निगमको एक उडान प्रयोग हुँदै आएको हो। त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन्। राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो।

निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ। निगमले सबैभन्दा बढी मलेसियाबाट  र अन्य खाडी मुलुकबाट पनि शव ल्याएको थियो। वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ।

निगमको जहाजले गत शनिबार एकै उडानमार्फत २४ शव र तीन अस्तु नेपाल ल्याएको थियो भने गत २०७७ माघ १० मा एकैपटक १८ शव ल्याइएको थियो। कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपालमा जारी निषेधाज्ञाका बेला निगमले हरेक महिना शव ल्याइरहेको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नेपालीको मृत्यु भएपछि त्यहाँ शव अलपत्र अवस्थामा थियो। 

निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ।
 

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्