Kathmandu Press

लमजुङमा एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

लमजुङ, साउन १० : जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन्। बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७÷७८ को एक वर्ष...
लमजुङमा एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

लमजुङ, साउन १० : जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन्। बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७÷७८ को एक वर्ष अवधिमा एक हजार १७१ महिलाले सुरक्षित प्रसूति सेवा लिएका हुन्।

सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए। अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उनको भनाइ छ।

त्यस्तै जिल्ला अस्पतालमा आव २०७६/७७ मा एक हजार १२३ महिलाले प्रसूति सेवा लिएका थिए। यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आव २०७५/७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो । सोमध्ये ८२९ सामान्य, १२४ शल्यक्रिया र ५८ महिलाले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ।

त्यस्तै आव २०७४/७५ मा एक हजार ३२२ ले प्रसूति सेवा लिएका थिए। यीमध्ये एक हजार ५२ सामान्य, १६९ शल्यक्रिया र १०१ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ। जिल्ला अस्पतालमा आव २०७४/७५ देखि २०७७/७८ सम्म चार हजार ६२७ महिलाले सो सेवा लिएका छन्। यीमध्ये सामान्य प्रसूति सेवा तीन हजार ६३५, शल्यक्रिया गर्नुपर्ने ६५४ र जटिल किसिमको प्रसूति सेवा ३३८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ। 

विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ। यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन्। अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ। जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन्। 
 

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्