Kathmandu Press

नेपाल-बंगलादेश व्यापार सधैँ बंगलादेशको पक्षमा

काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
नेपाल-बंगलादेश व्यापार सधैँ बंगलादेशको पक्षमा
नेपाल-बंगलादेश व्यापार हुने बंगलाबन्ध नाका । फाइल तस्बिर

झापा, साउन ९ : काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७७-७८ को तथ्यांकमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजार रुपैयाँको निर्यात भएको देखिन्छ भने सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माका अनुसार एक वर्षमा मात्र नेपाल–बंगलादेश व्यापार घाटा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार रुपैयाँबराबरको छ । प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढ्दो क्रममा रहेको उनले बताए ।

उनका अनुसार आव ०७६–७७ मा ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा तीन अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्यांक छ । आव ०७१–७२ सम्म आयातको तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो । तर, बंगलादेशले भन्सारदर बढाएसँगै नेपालबाट मुसुरो, जडीबुटी, अदुवालगायत सामग्रीको निर्यात कम भयो । र, आयात बढ्न थाल्यो ।

नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बंगलादेशबाट, जुट, आलु, प्लास्टिकजन्य सामग्री, वासिङ मेसिन, औषधि, भटमासको दाना र पिना, मेसिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको छ ।

मेची भन्सार हुँदै भारतको पानीट्यांकी र फूलबारी नाका हुँदै बंगलादेशको बंगलाबन्धसम्म सामान आयात–निर्यात हुन्छ । भारतले फूलबारी–बंगलाबन्ध नाका नेपाल–बंगलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । रासस

प्रकाशित मिति: २०:४५ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्