बल्खुमा ट्राफिक भवनको शिलान्यास
काठमाडौं, साउन ९ : महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ। काठमाडौं महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन लागेको...
काठमाडौं, साउन ९ : महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ। काठमाडौं महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन लागेको भवनको आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शिलान्यास गरे।
कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए। ‘समाजमा प्रहरीले गरेको योगदान र माया स्वरूप हामीले नयाँ भवन प्राप्त गर्दैछौँ, समाजप्रति झन् उत्तरदायी र सशक्त रूपमा अगाडि बढ्न र नागरिकले गरेको माया सद्भावनाले ठूलो उत्प्रेरित गरेको छ,‘ उनले भने।
सडक दुर्घटना न्यूनीकरणदेखि सामाजिक अपराध न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो। ट्राफिक प्रहरीको कामकाज सहज बनाउनका लागि कुमारी क्लबको संयोजनमा र स्थानीयवासीको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो।
महाशाखा प्रमुख भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको उल्लेख गरे। भवन निर्माण समितिका अध्यक्ष मोहनकुमार बस्नेतले समाज प्रहरी दुवैको सहकार्यबाट समाजमा शान्तिसुरक्षा कायम हुने बताए। ‘जहाँ प्रहरी हुन्छ, त्यहाँ शान्ति सुरक्षा हुन्छ,’ उनले भने।
कार्यक्रममा वडा नं १४ का सदस्य एवं कार्यपालिका सदस्य रश्मी खड्का, महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रमुख अपिलराज बोहोरा, स्थानीय समाजसेवी दिपेन्द्र केसी, महानगरीय ट्राफिक प्रहरीवृत्त कलङ्कीका प्रमुख शङ्खर खड्कालगायतको उपस्थिति थियो। उक्त भवन एक भान्साकोठासहित चारकोठे हुनेछ।











-(1)-1752494016.png)