मानव तस्करीविरुद्धको कथा ‘दी फ्लाइट’
काठमाडौं , असार २२ : हरेक आमाबुबा छोराछोरीले आफ्नै बाटो पछ्याएको हेर्न चाहन्छन्। र धेरैजसो पनि सन्तान आफ्ना आमाबुबाले गर्दै आएको कामलाई नै अगाडि बढाउद....
काठमाडौं , असार २२ : हरेक आमाबुबा छोराछोरीले आफ्नै बाटो पछ्याएको हेर्न चाहन्छन्। र धेरैजसो पनि सन्तान आफ्ना आमाबुबाले गर्दै आएको कामलाई नै अगाडि बढाउदै लग्छन्।
यदि आमाबुबाले गलत बाटो देखाउछन् भने त्यहि बाटोलाई आत्मसात गर्ने कि विकल्प खोज्ने?
यस्तै अन्योलको भुमरिमा लुटपुटिएका प्रमुख पात्रबाट सुरू हुन्छ नाटक ‘द फ्लाइट।’
गाउँको शक्तिशाली परिवारसँग उक्त पात्रको संघर्ष चल्छ। उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन। उ बाहिर निस्कन पनि सक्दैन। गलत भएको जान्दाजान्दै पनि परिवारले चलाएको महिला भारतका कोठीमा पु¥याउने धन्दामा अभ्यस्त हुँदै जान्छ त्यो युवक पनि।
कुनै पनि महिलालाई उसको भित्री मनको सुन्दरताबाट नभई उसको बाहिरी शारीरिक आवरणलाई हेरेर उपयोगको साधन बनाएको सन्दर्भले नाटक हेर्ने दर्शकलाई प्रश्न गर्न बाध्य बनाउछ।
नाटक सलल बग्दै जांने क्रममा शक्तिशाली पंक्षी चीलको प्रवेश हुन्छ। त्यसपछि जुन सन्देश नाटकमार्फत् प्रस्तुत गरिएको छ, त्योचाहिँ समाजको युगान्तकारी छलाङको कसी बन्न पुग्छ।
फ्रान्सेली कलाकार अलिजे बिआनिकको लेखन तथा निर्देशन रहेको नाटक ‘दी फ्लाइट’ काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको छ।
अलिजेका अनुसार नाटकमा सामाजिक विषयको उठान गरिएको छ।
‘आर्थिक प्रलोभनका कारण सामाजिक विचलन बढिरहेको छ तर, परिवर्तन आवश्यक र अवश्यम्भावी छ र यहि विषयको उठान नाटकमा गरिएको छ,’ उनले भनिन्।
उनले थपिन्, ‘मानिसहरुको सोच, चिन्तन सम्पूर्णमा परिवर्तनको आवश्यकता छ भन्ने नै दी फ्लाइटले दिन खोजेको मुख्य सन्देश हो।’
सोलिस पर्फमिङ आट्र्स र वान वल्र्ड थिएटरको प्रस्तुति रहेको नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निसिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, कल्पनालगायत २६ जना कलाकारले अभिनय गरेका छन्।
पीडित चेलीहरुको दर्दनाक पीडालाई निकै मार्मिक ढङ्गबाट नाटककारहरुको अभिनयले उपश्थित दर्शक सबैको डर र सहानुभुतिले मुटु ढुकढुक बनाएको थियो।
यो नाटक आज अन्तिम दिनमा चलिरहेको छ।












