मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध
गलकोट, साउन ८ : निरन्तरको वर्षातका कारण बागलुङका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएका छन्।मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको...
गलकोट, साउन ८ : निरन्तरको वर्षातका कारण बागलुङका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएका छन्।
मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। बिहीबार बिहानैदेखि अवरुद्ध दुईवटै सडक अझै सञ्चालनमा आएका छैनन्।
कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो। वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ।
लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहे पनि सडकमा लेदो खस्ने काम रोकिएको छैन।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले अवरुद्ध सडक खुलाउन बिहानैदेखि औजार खटाइएको जानकारी दिए। उनले तत्कालै एकतर्फी सडक खुलाउने गरी काम अन्तिम चरणमा पुगेको बताए। (रासस)











