बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) अब नेकपा (माओवादी केन्द्र समाजवादी)
काठमाडौं, साउन ७ : कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ। पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा...
काठमाडौं, साउन ७ : कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ। पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको नेकपा (माओवादी केन्द्र समाजवादी) को केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाइएको छ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) ले २०७८ साउन ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रीय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको स्पष्ट पारे। उनले कम्युनिस्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने, ‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेकोे छ।’ अध्यक्ष बुढाथोकीले पार्टीको नवौं महाधिवेशन आगामी फागुन १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए।
उनले २ तिहाइ प्राप्त कम्युनिस्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदुरदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरूको हातमा पुगेको टिप्पणी गरे। बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए। माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पुर्याउने बैठकले निर्णय गरेको सुनाए।
नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाइ थियो। सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो।
राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरूमा जनसंर्घषका कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए। उनले कोभिड–१९ को महामारी, प्राकृतिक विपत्तिको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरे।
कार्यक्रममा पार्टीका उपाध्यक्षहरू रंगनाथ ढकाल, विनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेख बहादुर खत्री, श्रृजन विक, प्रदेश ५ का संयोजक धु्रव सत्याल, प्रदेश २ का अध्यक्ष वृद्धि विलासलगायतको उपस्थिति थियो।











