चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुरु
चितवन, साउन ७ : चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया सुरु गरेको छ। विगत केही वर्षअघि मुटुको शल्यक्रिया सुरु गरेको कलेजले केही समय बन्द...
चितवन, साउन ७ : चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया सुरु गरेको छ। विगत केही वर्षअघि मुटुको शल्यक्रिया सुरु गरेको कलेजले केही समय बन्द गरेको थियो। सेवा सुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ। यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गरेका छन् । दश वर्ष काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा सुरु गरिएको हो।
आचार्यसँगै कार्डियक सर्जन डा अल्का सिंहसहितको टोली रहेको छ। टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो। आचार्यले भने, ‘मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो ।’ जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उनको भनाइ छ। उनले भने, ‘हामी यहाँ गङ्गालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं।’
यो सेवा राजधानी केन्द्रत भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उहाँले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताए। उनले भने, ‘सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।’ मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उनले सरकारले दिने रु एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिए।
सरकारले काठमाडौंको गङ्गालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भने, ‘यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।’ मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले भने, ‘म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ ।’
प्राडा आचार्यको समूहले गङ्गालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ। यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा उनले तीन वर्ष काम गरेका छन्। उनले बङ्गलादेशबाट एमबिबिएस र एमडिपछि सिङ्गापुरबाट फेलोसिप गरेका छन्।
अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताए। अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्रा डा श्यामराज रेग्मीसहितको टोलीले उपचार गर्ने उनले जानकारी दिए । राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, ‘काठमाडौंबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन्। बाहिरबाट काठमाडौं गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन् ।’
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले सेवा विस्तार गर्दै आएको बताए। मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरीजस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिइँदै आएको उनले बताए। छिट्टै मिर्गौला प्रत्यारोपण सेवा पनि शुरु गर्न लागिएको उनले जानकारी दिए। राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सक यहाँ आएसँगै जटिल किसिमका उपचार सहज बनेको उनको भनाइ छ। रासस











