Kathmandu Press

एक वर्षमा एक हजार व्यापारिक फर्म कारवाहीमा

काठमाडौं, साउन ६ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ। विभागले गत आर्थिक...
एक वर्षमा एक हजार व्यापारिक फर्म कारवाहीमा

काठमाडौं, साउन ६ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ। विभागले गत आर्थिक वर्ष २०७७र७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्म÷कम्पनी तथा उद्योग कारवाहीमा परेका हुन्।

एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको थियो। तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो। विभागको तथ्याङ्कअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो।

कारवाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत रु दुई करोड ३९ लाख ८२ हजार बराबर राजश्व सङ्कलन भएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार एक वर्षको अवधिमा रु तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ।

पाँच कार्यालयबाट एक हजार ३४७ फर्मलाई कारवाही

विभागअन्तर्गत रहेका पाँच कार्यालय (विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी)ले गत आवमा एक हजार ३४७ व्यापारिक फर्मलाई कारवाही गरेका छन्। ती फर्मलाई कारवाही स्वरुप जरिवाना गर्दा एक वर्षको अवधिमा रु तीन करोड ३३ लाख ७० हजार राजश्व सङ्कलन भएको छ। चार हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोवार रोक्का गरिएको थियो । साथै रु तीन करोड ९८ लाख ५३ हजार २५९ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो।

त्यस्तै चार हजार ४१ अन्य फर्मलाई समेत कारवाही गरिएको विभागले जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने फर्मलाई कारवाहीस्वरुप आर्थिक जरिवाना गर्दै आएको छ।
 

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्