आफू र विगतका सरकारबीच भएका सम्झौता कार्यान्वयन गर्न डा. केसीको माग
काठमाडौं, साउन ४ : कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्टै (सोमबार) डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित पाँचबुँदे माग अगाडि सारेका...
काठमाडौं, साउन ४ : कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएको भोलिपल्टै (सोमबार) डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित पाँचबुँदे माग अगाडि सारेका हुन्।
आज (सोमबार) पत्रकार सम्मेलन गरी डा केसीले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि नयाँ सरकारलाई आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न पाँचबुँदै माग अघि सारेको बताए।
उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै माग पूरा गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफू र विगतका सरकारबीच भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग पनि डा. केसीले राखेका छन्।
डा. केसीले आफ्ना माग पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन्। तीन महिना यमनमा बसेका डा. केसी हालैसालै नेपाल फर्किएका हुन्।











