Kathmandu Press

अपर तामाकोसी लगानीकर्तालाई सातामै चार अर्ब घाटा

काठमाडौैं, माघ १३ : नेपाल स्टक एक्सचेञ्चमा (नेप्से) मा सूचीकृत भएकै साता माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा प्रतिकित्ता २२४ बाट ३११ रूपैयाँमा पुग्....

अपर तामाकोसी लगानीकर्तालाई सातामै चार अर्ब घाटा

काठमाडौैं, माघ १३ : नेपाल स्टक एक्सचेञ्चमा (नेप्से) मा सूचीकृत भएकै साता माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा प्रतिकित्ता २२४ बाट ३११ रूपैयाँमा पुग्यो । र, कम्पनी उत्कृष्ट १० कम्पनी भित्र उक्लियो ।

खरिदकर्ताको चापले प्रत्येक दिन १० प्रतिशतको दरले माथिल्लो तामाकोशीको सेयर बढ्यो । लगानीकर्तालाई लाग्या, ‘तामाकोशीको सेयर अझै माथि जान्छ ।’ तर, दोस्रो सातासम्म आइपुग्दा सेयरको भाउ घट्ने क्रम जारी छ । चलाख लगानीकर्ताले तामाकोशीको सेयर बिक्री गरेर केही रकम कमाए ।

अघिल्लो साता माथिल्लो तामाकोशीको सेयर प्रतिकित्ता ३११ थियो । तर आज बजार खुल्ने वित्तिकै तामाकोशीको सेयर २६९ रूपैयाँमा कारोबार भइरहेको छ ।

माथिल्लो तामाकोसीको सेयर मूल्यमा गिरावट आएपछि बजार पूँजीकरण पनि झण्डै चार अर्ब रुपैयाँ घटेको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको पूँजीकरण गत साता ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुगेको थियो । तर अहिले तीन अर्ब ९१ करोड ८३ लाख रुपैयाँ घटेर २९ अर्ब एक करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा कारोबारका लागि सूचीकरण भएको छ । कम्पनीको गत साता एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । १० अर्ब ५९ करोड बराबरको सेयर एकै पटक धितोपत्र बजारमा आएको थियो ।

कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई  एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गरेको थियो । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत सेयर बिक्री गरेको होे ।

कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरेको थियो ।  
कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण सेयर रहेको छ ।  सेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको सेयर सूचीकरण भएको हो । टेलिकमको कूल १५ करोड कित्ता सेयर सूचीकृत छ ।

प्रतिकित्ता २० पैसा घाटा

माथिल्लो तामाकोशीको वित्तीय विवरणमा चालु आर्थिक वर्ष प्रतिकित्ता २० पैसा घाटा रहेको देखाएको छ । गत वर्षको हेर्ने हो भने प्रतिकित्ता १०० रुपैयाँ हालेर किनेका सेयरधनीलाई प्रतिकित्ता दुई रुपैयाँ घाटा छ ।

विविध कारणले निर्माण अवधि बढ्दा आयोजनाको सञ्चालन खर्च र कूल लागत दुवै बढेको छ । जसकारण यो आयोजनामा लगानी गर्नेहरुलाई आयोजनाले तत्काल लाभांश दिनसक्ने अवस्था देखिँदैन । यो आयोजनाले दुई वर्षपछि मात्रै सेयरधनीलाई लाभांश दिन सक्ने संभावना रहेको छ ।

लागत बढ्दा क्रेडिट रेटिङमा असर

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत शुरुआतमा अनुमान गरिएकोभन्दा २० अर्ब ६८ करोड रुपैयाँ बढि लाग्ने भएको छ ।

सुरु लागत अनुमान व्याज खर्चसहित ४८ अर्ब ८६ करोड रुपैयाँ थियो । ४५६ मेगावाटको आयोजना ६ वर्षमा निर्माण सक्ने अनुमान गरिएको थियो । भूकम्प र स्थानीय पुर्वाधार तथा अन्य संरचना निर्माण गर्न थप तीन वर्ष समय थपिँदा आयोजनाको लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । 

आउँदो चैतसम्म आयोजनाको सिभिल संरचना निर्माण सकिने र व्यावसायिक उत्पादन भएर बिक्री वितरणका लागि कात्तिक कुर्नु पर्ने छ ।  समयमा निर्माण कार्य नसकिँदा लागत बढ्दा त्यसको असर क्रेडिट रेटिङमा समेत देखिएको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले समयमा आयोजना नसकिदा लागत धेरै पर्न गएकोले कमजोर रेटिङ आएको बताए ।

कमजोर रेटिङले आयोजनाको वित्तीय अवस्था राम्रो नभएको संकेत गर्छ । अपर तामाकोशीको लागत बढ्दा हुन गएको क्षतिलाई न्यूनिकरण गर्न अबको चार वर्षमा रोल्बालिङ आयोजना निर्माण गरेर पूर्ती गर्ने श्रेष्ठले बताए ।

आयोजनाको लागत बढ्दा स्वभाविक रुपमा लगानीकर्ताले प्राप्त गर्न सक्ने प्रतिफल पनि घट्ने श्रेष्ठको भनाइ छ ।  रोल्बालिङको निर्माण सकिएसँगै यसको प्रतिफलले अपर तामाकोशीकै आम्दानीमा सुधार ल्याउने उनको बुझाइ छ ।

कसरी बढ्यो लागत ?

आयोजना निर्माण गर्दा प्रतिडलर ८० रुपैयाँ रहेकोमा डलरको भाउ एक सय १३  रुपैयाँसम्म वृद्धि हुँदा आठ अर्ब लागत बढेको छ ।

आयोजनाका अनुसार विदेशी ठेकेदार तथा परामर्शदाताहरूलाई विदेशीमा मुद्रामा भुक्तानी गर्दा नेपाल राष्ट्र बैकबाट स्वीकृति लिनुपर्ने र सोहीक्रममा १५ दिनसम्म लाग्ने व्यवस्था थियो ।
तर गत आर्थिक वर्षको अन्त्यदेखि राष्ट्र बैकले सोझै स्वीकृति नदिइ विद्युत् विकास विभागबाट सिफारिस ल्याउनुपर्ने नयाँ नियम स्वीकृति गरेपछि तथा सटहीका लागि पटके सुविधा लिनुपर्ने व्यवस्थाले समेत आयोजनाको लागत महंगिदै गएको छ ।

सुरुआतमा १० प्रतिशत ब्याजदरमा आयोजना बनाउनका लागि कर्मचारी सञ्चय कोष लगायतबाट ऋण लिएको आयोजनाको ब्याजदर १२ प्रतिशतसम्म पुग्नु, भूकम्पको कारणले पहुँच मार्गमा क्षति पुगेपछि यसका लागि थप सुरुङ मार्गको निर्माण गर्नुपर्ने अवस्थाले समेत लागत बढाएको आयोजनाले जनाएको छ ।

खाडीचौरदेखि चरिकोटसम्मको सडक मर्मतमा ढिलाइ हुँदा समयमै ठूला उपकरण ल्याउन नसकिएपछि पनि लागत बढ्दै गएको आयोजनाले जनाएको छ । सुरुआतमा आयोजनाले ऋणको ब्याज २५ प्रतिशत हुने अनुमान गरिएकोमा अहिले ४० प्रतिशत पुग्ने देखिएको छ ।

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, माघ १४, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्