कांग्रेसका नेता थापाको निधनप्रति दुःख व्यक्त
काठमाडौं, साउन ३ : नेपाली कांग्रेस गुल्मीका नेता एवं गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष ७४ वर्षीय अशोककुमार थापाको असार ३० गते ललितपुरमा उपचारका क्रममा निधन...
काठमाडौं, साउन ३ : नेपाली कांग्रेस गुल्मीका नेता एवं गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष ७४ वर्षीय अशोककुमार थापाको असार ३० गते ललितपुरमा उपचारका क्रममा निधन भएकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
शहीद गङ्गाबहादुर थापाका माइला छोरा स्व. अशोककुमार थापा विगत केही समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। नेपाली कांग्रेसद्वारा सञ्चालित सशस्त्र सङ्घर्षमा समेत उहाँको सक्रिय सहभागिता रहेको थियो।
स्व. थापा गुल्मी जिल्ला विकास समितिको इलाका सदस्य हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको थिए। स्व. थापाका पत्नी र चार छोरा छन्।
‘कांग्रेसका अग्रज व्यक्तित्व एवं गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । स्व. थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ,’ प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।











