केन्द्रीय सदस्य घिमिरेमाथि गरिएको आक्रमणको कांग्रेसद्वारा निन्दा
काठमाडौं, साउन २ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि गरिएको आक्रमणको कांग्रेसले निन्दा गरेको छ।कांग्रेस प्रवक्ता...
काठमाडौं, साउन २ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि गरिएको आक्रमणको कांग्रेसले निन्दा गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, 'कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन। महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ।'
क्रियाशील सदस्यता छानविनमा भइरहेको कामको प्रशंसा गरिएको छ। विज्ञप्तिमा भनिएको छ, 'छोटो समय र कोभिड महामारीबीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको छ।'
प्रवक्ता शर्माले सबैले छानविन समितिलाई सघाउन आग्रह गरेका छन्। उनले अराजक गतिविधि गर्नेलाई कारबाही गरिने जनाएका छन्।
शर्माले भनेका छन्, 'सदस्यता सम्बन्धी कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य छ।'











