मापदण्ड र समझदारीका आधारमा टुंग्याइँदै कांग्रेस क्रियाशील सदस्यता विवाद
१४औँ महाधिवेशनको तयारीमा जुटिरहेको कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउने कसरत जारी छ।काठमाडौं, साउन १ : १४औँ महाधिवेशनको तयारीमा जुटिरहेको कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउने कसरत जारी छ।
हरेक महाधिवेशनमा कांग्रेस क्रियाशील सदस्यताको विवाद हुने गरेको छ। यसपटक पनि यो विवाद दोहोरिएको हो।
कांग्रेसको १३ औँ महाधिवेशमा क्रियाशील सदस्य चार लाखभन्दा बढी थिए। यसपटक १० लाख क्रियाशील सदस्य पुर्याउने कांग्रेसको योजना छ।
क्रियाशील सदस्यता छानविन समितका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलका अनुसार क्रियाशील सदस्यताको विवाद केही जिल्लामा देखिएको छ। हालसम्म चार लाख १० हजार पुराना सदस्यको नवीकरण भएको र चार लाख ४३ हजार नयाँ क्रियाशील सदस्य थपिएको उनले जानकारी दिए। त्यो भनेको हालसम्म कांग्रेस क्रियाशील सदस्यको संख्या आठ लाख ५३ हजार पुगिसकेको छ।
‘जनसम्पर्क समितिबाट नवीकरण गरिएका तथा नयाँ थपिएका क्रियाशील सदस्यको विवरण आउन बाँकी छ,’ पौडेलले भने।
क्षेत्रमा नयाँ सदस्यता लिँदा त्यसभन्दा तलका सबै तहले स्वीकृत नगरेका केसहरू उपर छलफल भइरहेको उनले बताए। शतप्रतिशत मात्रै क्रियाशील सदस्यता वितरण गर्ने क्रममा कतिपय वडाहरूमा त्यसभन्दा बढी सदस्यता वितरण भएको पौडेलले जानकारी दिए।
अन्य राजनीतिक दलहरूबाट कांग्रेसमा प्रवेश गरेकाहरूको सदस्यताका लागि मापदण्ड पूरा नभएकोलगायत उजुरी समितिमा परेको छ। अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेर सदस्यता लिने व्यक्तिको मापदण्ड पनि पूरा नभएको उनले जानकारी दिए।
‘यी यावत विवादहरूमा छलफल गरी सर्वसम्मतिबाट टुंग्याउन सकिने टुंग्याएका छौँ, बाँकी विवादित केसहरूलाई स्थगित गरी समाधानका लागि नेताहरू माझ पठाउने योजनामा छौँ,’ पौडेलले भने।
पौडेलका अनुसार बारा र सप्तरीबाहेक अन्य जिल्लामा काम सम्पन्न भएको छ। उजुरीउपर सैद्धान्तिक निर्णय गरिएको र त्यसलाई दस्तावेजीकरण गर्न समय लाग्ने उनले बताए। क्रियाशील सदस्यताउपर रहेका उजुरीलाई मापदण्डको आधारमा टुंग्याएको र दुई पक्षबीच समझदारी कायम गर्ने प्रक्रियामा रहेको पौडेलले बताए।
विशेषगरी मापदण्ड र समझदारीका आधारका क्रियाशील सदस्यताका लागि उठेको विवादको समाधान भएको छ। ‘पार्टीको मापदण्डअनुरूप नयाँ सदस्यता थपिँदा केही समस्या आएको हो, जुन उजुरीउपर छानविनका साथ समाधान प्रक्रियामा छ,’ पौडेलले भने। १६-१९ भदौमा निर्धारित महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवाद पनि समाधान भइसक्ने पौडेलको दाबी छ।