नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण
सिमकोट, साउन १ : नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ।सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक...सिमकोट, साउन १ : नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ।
सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो। नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए।
प्रमुख कार्कीले भने, 'कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ।' हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो।
कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गरेका थिए। सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै आयोजना प्रमुख लामाले अब सडकको पूर्णरूपमा अपनत्व लिने बताए। कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति थियो।
सेनाले कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२.७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो। निमार्ण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ।
कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ। खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो।
हुम्लाका चार गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ।











