ट्राफिकले लगेको कागजात रहेको ठाउँ एसएमएसबाट थाहा पाउन सकिने
काठमाडौं, असार ३१ : के तपाईं ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रबारे जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने आजदेखि ट्राफिक प्रहरी महाशाखाले सुरुवात...
काठमाडौं, असार ३१ : के तपाईं ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रबारे जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने आजदेखि ट्राफिक प्रहरी महाशाखाले सुरुवात गरेको एसएमएसबाटै जानकारी दिने सेवाको प्रयोग गर्नुहोस्।
विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रबारे जानकारी लिन जानकी टेक्नोलोजीले तयार पारेको डकुमेन्ट ट्रयाकिङ सिस्टम (डिटिएस) मोबाइल एसएमएसमार्फत जानकारी लिन सकिने सेवा बिहीबारदेखि सुरु गरेको हो।
ट्राफिक महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एवं सरल बनाई आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोगमार्फत अबदेखि ट्राफिक कारबाहीमा परेर सवारी कागजपत्र लिन कहाँ जाने, कसरी लिने भन्ने द्विविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा इसिएचएएलएएन टाइप गरी स्पेस राखी आर्थिक वर्ष लेखेर फेरि स्पेस राखी चिट नम्बर लेखेर ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने भट्टराईले जानकारी दिए।
‘डकुमेन्ट ट्र्याकिङ सिस्टमले मोबाइल एसएमएसमार्फत तुरुन्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्छ। सोहीअनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ,’ उनले भने, ‘कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ व्यस्त हुने भएकाले समेत समस्या हुने गरेको थियो। तर, आजदेखि भने एसएमएस सिस्टमले सहज हुने हाम्रो विश्वास छ।’
उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरे पनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यवस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरूलाइ पर्ने गरेको असुविधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने महाशाखाले विश्वास लिएको छ।
यस्तै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दीप शाक्यले ट्राफिक प्रहरीले प्रविधिको विस्तार गरि सेवाग्राहीलाई दिने सुविधा क्रमशः बढाउँदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास गरेको जानकारी दिए।
अबदेखि महाशाखा फ्री-वाइफाई जोन
वल्र्डलिंक कम्युनिकेसन प्रालिले सामाजिक उतरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्री–वाईफाई जडान गरेको छ। फ्री वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाइन भुक्तानी, अनलाइन सचेतना कक्षा, अनलाइनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाइदा पुगेको एसएसपी भट्टराईले जानकारी दिए।
सेवाग्राहीले वल्र्डलिंकको फ्री वाईफाई प्रयोग गरि एक डिभाइसमा कनेक्ट गरी २४ घण्टामा एक जिबी डाटा निःशुल्क प्रयोग गर्न सकिने वल्र्डलिंकका निर्देशक कर्पोरेट अफेयर्स लक्ष्मण यादव बताउँछन्।











