Kathmandu Press

खोलाले बगाउँदा तीनको मृत्यु, एक बेपत्ता

काठमाडौं, असार ३१ : दाङ, रुपन्देही र सिन्धुलीमा खोलाले बगाएर तीनजनाको मृत्यु भएको छ।दाङको राप्ती गाउँपालिका-८ पिपरी कोहदवा बस्ने प्यूठान स्वर्गद्वारी नगरपालिका-६ घर...
खोलाले बगाउँदा तीनको मृत्यु, एक बेपत्ता

काठमाडौं, असार ३१ : दाङ, रुपन्देही र सिन्धुलीमा खोलाले बगाएर तीनजनाको मृत्यु भएको छ।

दाङको राप्ती गाउँपालिका-८ पिपरी कोहदवा बस्ने प्यूठान स्वर्गद्वारी नगरपालिका-६ घर भएका गमनसिंह बुढा मगरका छोरा १७ वर्षीय भरत बुढा मगरको घरदेखि करिब १ किलोमिटर टाढा दोलही खोलामा नुहाउने क्रममा डुबेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका-१० पानबारी बस्ने लिलामणी पाण्डेको छोरी नौ वर्षीया गंगा पाण्डेको सोही ठाउँस्थित कञ्चन खोलाले बगाउँदा बुधबार दिउँसो मृत्यु भएको छ।

गंगा र सोही ठाउँ बस्ने पिताम्बर न्यौपानेको छोरा नौ वर्षीय सुजन न्यौपाने उक्त खोलामा खेल्ने क्रममा खोलामा बाढी आई दुवैजनालाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका-११ मा गंगाको शव फेला परेको हो। साथै बेपत्ता भएका सुजनको प्रहरीले खोजी गरिरहेको छ। 

त्यसैगरी सिन्धुलीको घ्याङलेख गाउँपालिका-३ गुराँसे बस्ने ५४ वर्षीया रिता विकको सोही गाउँपालिका-२ स्थित मरिणखोलाले बगाएर बिहीबार बिहान मृत्यु भएको छ। छोरीको घरमा गइ फर्कने क्रममा उक्त खोलाले बगाउँदा उनको मृत्यु भएको प्हरीले जनाएको छ। 

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्