छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु
काठमाडौं, असार ३१ : बर्दिया, सप्तरी, इलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ। बर्दियाको बढैयाताल...
काठमाडौं, असार ३१ : बर्दिया, सप्तरी, इलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ स्याउली बजारमा ११५–०–००–३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–८ स्याउली बजार बस्ने ७५ वर्षीया देवी गुरुङको बुधबार साँझ मृत्यु भएको छ।
बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित सडकमा रा४प ९५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय सरयोग रायको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै इलाम, माङसेबुङ गाउँपालिका–४ मार्चेबुङ बस्ने ३६ वर्षीय धनबहादुर राईले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित रतुवा पुलनजिक सेतेभिडबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा राईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पतालमा हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–८ भुटुकेस्थित सडकमा ना५ख ३३२ नम्बरको ट्रकको ढोकाबाट खसेर ट्रकमा सवार बराहताल गाउँपालिका–८ जोगीडाँडा बस्ने ३६ वर्षीय सूर्यबहादुर शाहीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनहवा चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट सोही नगरपालिका–८ मैनहवा बस्ने बिक्की गुप्ताको छोरा ५ वर्षीय प्रिन्स गुप्ताको बुधबार साँझ मृत्यु भएको छ।
बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्ैगरी बाराको महागढीमाई नगरपालिका–२ स्थित सडकमा प्रदेश २–०३–००१ ख ०७१५ नम्बरको ट्रकले स५प ९५३७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा सखुहवा प्रसौनी गाउँपालिका–६ घर भएका ४४ वर्षीय रमेश कुमार राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाँकेको नेपालगन्ज उपमहानरगपालिका–२० राझा चोकमा भे७प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक राझा एअरपोर्ट डेरा गरी बस्ने हुम्ला सर्केघाट गाउँपालिका(७ घर भएका २२ वर्षीय शंक शाहीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित खेत जोत्ने क्रममा ज१ त ७९०१ नम्बरको ट्याक्टर पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय मनोज साहको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।











