Kathmandu Press

बाढीपहिरोबाट म्याग्दीमा अहिलेसम्म ८५ घरमा क्षति

म्याग्दी, असार ३१ : मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घरमा क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति भएको...
बाढीपहिरोबाट म्याग्दीमा अहिलेसम्म ८५ घरमा क्षति

म्याग्दी, असार ३१ : मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घरमा क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार एक सय ४४ घर उच्च जोखिममा र ७३ घर जोखिममा परेका छन्। अहिलेसम्म बाढी र पहिरोमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिए।

पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई तीन लाख राहत उपलब्ध गराएको छ। पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ पौडेलले बताए।

पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन्। अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगङ्गाको बेग, बेनीको सिंगा तातोपानी, मङ्गलाको अर्मन, मालिकाको रुम र धौलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ।

गत वर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ। गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएकामध्ये म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले ४० वटा घर बनाएको छ।

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो। निर्णयानुसार आवश्यक बजेट व्यवस्थापन नगर्दा सबै पहिरो पीडितले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन्।

वैशाख अन्तिम साता एक करोड आठ लाख ९७ हजार पाँच सय पठाएको गृह मन्त्रालयले असारमा थप ३६ लाख ३२ हजार पाँच सय पठाएको थियो। मोनाले बनाएकाबाहेकका घरका लागि रु १० करोड बजेट माग गरिएको थियो।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यविधि भए पनि सङ्घ र प्रदेशले बजेट नपठाएकाले पुनःनिर्माण प्रभावित भएको स्थानीय तहका पदाधिकारीले बताएका छन् । धौलागिरि गाउँपालिकाको मराङ, मालिकाको बिम, देवीस्थान, रघुगङ्गाको भगवती र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो। (रासस)

प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्