Kathmandu Press

घामपानीमा नारायणगढ–मुग्लिन सडक जोखिममा

चितवन, असार ३० : पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए।यो लामो समय बित्न नपाउँदै सडक ठाउँ-ठाउँमा भत्किएका...
घामपानीमा नारायणगढ–मुग्लिन सडक जोखिममा

चितवन, असार ३० : पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए।

यो लामो समय बित्न नपाउँदै सडक ठाउँ-ठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन।

धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ।

यसवर्ष सो सडकका चार ठाउँमा घाम र पानी दुबैमा पहिरो खसेर दुःख दिएको छ।

वर्षासँगै सेती दोभान र कालीखोलामा  नयाँ पहिरो झरेका हुन भने चार किलो र पाँच किलोमा पुरानै स्थानमा पहिरो खसेका छन्।

सेतीदोभान भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्दछ भने अन्य इच्छाकामना गाउँपालिकामा पर्दछ।

विगत ६ वर्षदेखि सो सडक हेर्दै आएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सेती दोभानमा ८० मिटरमाथिसम्म पहाड छ। सोही पहाडबाट पहिरो झर्ने गरेको छ। 

माथिल्लो ६ मिटर लगभग ६ मिटर भागमा माटो छ भने अन्य भागमा गेग्र्यान र चट्टान रहेको छ। बीचमा पानीको मुहान भएको उनले जानकारी दिए।

चार किलोमा माथि १५० मिटरसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको छ। त्यो भन्दा माथिबाट पहिरो झरेको उनले जानकारी दिए। त्यहाँ फुटेका चट्टान रहेका छन्। पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ।

कालीखोला नजिकै पहिलो पटक पहिरो खसेको हो। पहिरो रोकिएका सामग्रीसहित रूख विरूवा पहिरोसँगै झरेका हुन्। त्यहाँ पनि चार किलोको जस्तै फुटेका चट्टानसहितको पहिरो झर्ने गरेको छ।

नयाँ पहिरो झरेका दुबै ठाउँ अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो नरोकिने देखिएको छ।

पानी पर्दा लेदोसहितको पहिरो र घाम लाग्दा सुख्खा पहिरो झर्ने गरेको छ।

खनालका अनुसार पानी पर्दा भित्र छिर्ने र घाम लागेसँगै सुकेर माटो खुम्चिँदा पहिरो खस्ने गरेको छ।

जसले गर्दा सडक वर्षात्को सबै समय जोखिमपूर्ण बनेको हो। यो सडक हुँदै १० हजार हाराहारी सवारी साधन दैनिक गुड्ने गर्दछन्। राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यसलाई लिइन्छ। रासस

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्