सीमभञ्ज्याङमा सात ताल बन्ने
टिस्टुङ, असार २९ : मकवानपुरको सबभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सात वटा ताल निर्माण गरिने भएको छ।बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले...टिस्टुङ, असार २९ : मकवानपुरको सबभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सात वटा ताल निर्माण गरिने भएको छ।
बहुवर्षीय योजनाअन्तर्गत सो ताल निर्माण गर्न बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ मा रु ३३ लाख बजेट विनियोजन गरेको छ।
प्रदेश भौतिक पूवार्धार विकासमन्त्री रामेश्वर फुयाँलले थाहा नगरपालिका–४ सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा ताल निर्माण गर्न लागिएको बताए।
सीमभञ्ज्याङको करिब दुई हजार ५०० मिटरको उच्च क्षेत्रबाट अटुटरूपमा बगिरहने पानीलाई बाँध बनाएर ताल निर्माण गर्नेगरी प्रदेश सरकारले प्रतिवेदन तयार पारिसकेको छ।
गत २९ कात्तिकमा मन्त्रालयका सचिव सञ्जीव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरूङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१ का प्रमुख बालमुकुन्द श्रेष्ठलगायत प्राविधिक टोलीसहित मन्त्री फुयाँलले स्थलगत अवलोकन गरेका थिए।
सोही क्रममा उनले डिभिजनका प्रमुख रिजाललाई सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न वैज्ञानिक अध्ययन गर्न आग्रह गरे।
नेकपा एमाले थाहानगर कमिटीले सीमभञ्ज्याङ, दामन, त्रिवेणीधाम, राष्ट्रिय विभूति उद्यान, महाकवि मार्ग, ढुङ्गेधारा, राजकुलो पुनःनिर्माण लगायतका पर्यटकीय पूर्वाधारको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न संघ तथा प्रदेश मन्त्रालयमा पहल गर्दै आएको थियो।











