पेस्तोलसहित दुई जना पक्राउ
लहान, असार २९ : हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको...
लहान, असार २९ : हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि गत आइतबार कटुवा पेस्तोलसहित सिरहाको गोलबजारबाट औरही गाउँपालिका–२ निवासी सुजितकुमार यादवलाई पक्राउ गरिएको थियो। यादवको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको थियो।
कैद सजाय पाएर फरार सदा पक्राउ
कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा छ महिना चार दिन कैद सजाय पाएर फरार कर्जन्हा नगरपालिका–३ खैराटोल निवासी ३९ वर्षीय श्रीप्रसाद सदालाई पक्राउ गरेको हो।
आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सदालाई पक्राउ गरिएको र आज जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस











