Kathmandu Press

खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

काठमाडौं, असार २८ : राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र...
खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

काठमाडौं, असार २८ : राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गरेका छन् । 

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेकी दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गरिन्। उनले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिराका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याइन्।

सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिन्। उनले कैलालीमा तीन वर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाही होस् भनिन्। एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताइन्। 

सोही दलकी विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरिन्। एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गरिन्। सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन  आग्रह गरिन्।

नेपाली कांग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए। नेकपा माओवादी केन्द्रका जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताए। सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गरे। 
 
 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्