मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं, असार २८ : मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारी दिइन्।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ मानिएपनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै सुरु भएको थियो।











