किर्ते सवारी पास बनाउने उपकरणसहित दुईजना पक्राउ
बारा, असार २८ : किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।कलैया उपमहानगरपालिका–४ स्थित दाइभाइ फोटो...
बारा, असार २८ : किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका–४ स्थित दाइभाइ फोटो स्टुडियो एन्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय गोपाल प्रसाद साह र ना१ज ७२८८ नम्बरको सुमो गाडीका धनी सोही उपमहानगरपालिका–१७ बस्ने २१ वर्षीय जयनारायण प्रसाद जैसवाललाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीको कागजात जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धानका क्रममा उक्त किर्ते पास गोपाल प्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा तीन थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका दुई थान प्रिन्टर, एक थान सिपियु र एक थान मनिटरसहित फेला पारी गोपाल प्रसादलाई पक्राउ गरेको हो ।
उनीहरूउपर लिखतसम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।











