Kathmandu Press

तनहुँको ऋषिङ छ दिनदेखि अन्धकारमय

तनहुँको ऋषिङ छ दिनदेखि अन्धकारमय

दमौली, असार २८ : बाढीपहिराका कारण ऋषिङ गाउँपालिकावासी छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। यही असार २३ गते रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा विद्युत् खम्बा ढलेपछि विद्युत, खानेपानी र सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। बाढीपहिरोले वडा नं ४, ५ र ८ मा बढी क्षति भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। 

विद्युत् लाइन नहुँदा मोबाइल चार्ज गर्न नपाउँदा सम्पर्क बिच्छेद भएको छ। स्थानीयवासी एक वडाबाट अर्को वडामा आवतजावत गर्न समस्या भएको छ भने झापुटार–काँहुशिवपुर चालिसे मार्गको ठाउँ ठाउँमा पहिरा खसेर अवरुद्ध हुँदा रामार्गसँग बिच्छेद बनेको उनले बताए। 

खानेपानीको पाइप पहिराले बगाउँदा स्थानीयवासी टाढाबाट कुँवा र धाराको पानी ल्याएर खानुपर्ने अवस्था छ। उक्त गाउँमा परिहाबाट ऋषिङ–७ डढीवनमा पहिराले पुरेर ५० वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोटका गाउँपालिकाका ३८ वर्षीय सुरक्षा गार्ड खुमबहादुर आलेको मृत्यु भएको थियो।  

Hardik ivf

ऋषिङगाउँपालिका–८ अजम्बरी मन्दिर क्षेत्रमा रहेका पुराना संरचना पहिराले बगाएर क्षति भएको छ । निर्माण गरिएको नयाँ मन्दिरबाहेक पुराना कुवा तथा मन्दिर पहिराले पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। 

गाउँपालिकाभित्र १८ घरपरिवार पूर्ण क्षति भए पनि खाद्यान्न बाली केकति क्षति भयो त्यसको तथ्याङ्क लिने कार्य भइरहेको उनले बताए। तत्कालै अवरुद्ध सडक खुलाउनसक्ने अवस्था नभएकाले तत्कालका लागि  आवतजावत गर्न  बाटो खुलाउन पहल भइरहेको उनले बताए। गाउँपालिकाले अवरुद्ध सडक खुलाउन चाहे पनि पानी परिरहेकाले पहिरा हटाउन तथा पीडित परिवारलाई राहत वितरण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ। अहिले बढी मूल्यमा खाद्यान्नलगायतका वस्तु खरीद गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

भानुभक्त क्याम्पसमा व्यावसायिक भवन बन्दै

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शैक्षिक तथा व्यावसायिक प्रयोजनाका लागि भवन निर्माण शुरुआत भएको छ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले आइतबार भवनको शिलान्यास गर्दै समुदायद्वारा व्यवस्थापन गरिएको  क्याम्पसका शैक्षिक पूर्वाधार निर्माणमा नगरपालिकाले निरन्तर आर्थिक सहयोग गर्दै आएको बताए। 

नगरपालिकाले उक्त भवन निर्माण गर्न कूल रु ५५ लाख रकम विनियोजन गरेको छ । दमौली–बेलबास सडकखण्डसँगै जोडिएको क्याम्पसको लालपुर्जा भएको जग्गामा वारपार खण्डमा चरणबद्धरुपमा चारतले भवन निर्माण गर्न लागिएको हो। उक्त चारतलेमध्ये भुइँतला दुई तला व्यापारिक प्रयोजन र अन्य शैक्षिक प्रयोजनका लागि क्याम्पसले प्रयोगमा ल्याउने गरी भवन खाका गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए। उपभोक्ता समिति आफैँले निर्माण सामग्री खरीद गरी  श्रमिकलाई   हाजिरीमा खटाएर निर्माण गर्न लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाले बताए। 

बालविकास केन्द्र शिलान्यास 

रोटरी क्लब अफ नारायणगढको सहयोग र देवघाट गाउँपालिकाको सहकार्यमा तनहुँको देवघाट गाउँपालिका– ५ स्थित साउनेमा बालविकास केन्द्र भवन शिलान्यास गरिएको छ । करीब रु १० लाखको लागतमा निर्माण गर्न लागेको सो भवनको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले शिलान्यास गरे। उक्त केन्द्रमा भुजेल समुदायका १५ बालबालिकाले अध्ययन गर्दै आएका छन् । बालबालिका अध्ययन गर्ने भवन पुरानो र जोखिम भएकाले नयाँ भवन निर्माण गर्न लागिएको वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिए । त्यसैगरी रोटरी क्लबको ग्लोबल ग्रयाण्डअन्तर्गत सोही ठाउँमा सिँचाइ र खानेपानीको बृहत् सर्वेक्षण गरिएको रोटरी क्लब अफ नारायणगढ संस्थापक अध्यक्ष नीरञ्ज प्रधानले बताए। 

मिर्गौलापीडितलाई रु साठी हजार सहयोग 

व्यास नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी अञ्जु गिरीले वडाका तीन  मिर्गौलापीडितलाई शनिबार रु ६० हजार  सहयोग गरेकी छन्। उनले वडाध्यक्ष तुलसीराम सापकोटाको रोहबरमा स्थानीय हृदय कुमाल, गोविन्द विक र इन्द्रबहादुर रानालाई जनही रु २० हजार सहयोग गरेकी हुन्। नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स खरीद अभियानमा समेत गिरीले रु ५० हजारभन्दा बढी सहयोग गरेकी थिइन्। 

सामूहिक सूर्यमुखी खेती 

चार युवा मिलेर सूर्यमुखी खेती थालेका छन् । म्याग्दे गाउँपालिका–३ स्थित पसले कोसेटारका युवाले खाने तेलको मूल्य दिन प्रतिदिन बढ्दै जान थालेपछि आत्मनिर्भर बन्ने उद्देश्यल खेती थालेका हुन् । स्थानीयवासी राम घिमिरे, दीपक रामदाम, प्रतिक श्रेष्ठ र मनबहादुर आले मिलेर सूर्यमुखी खेतीको साथै ड्राइभिङ ट्रेनिङ सेन्टर र ह्याप्पी खाजा घरसमेत सञ्चालन गर्दै आएका छन् । रोजगारीका सिलसिलामा नौ वर्ष साउदीमा समय बिताएका घिमिरेले स्वदेशमै बसेर परिश्रम गरी केही गरौँ भन्ने सोचका साथ काम गर्न लागिएको बताए। 

बालबालिकालाई मनोरञ्जन प्रदान गर्न खाजाघर परिसरमा बालोद्यान निर्माण हुने भएको छ। करीब छ रोपनी आफ्नै जग्गामा उद्यान  बनाउन लगिएको हो। आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले बालोद्यान बनाइन लागिएको सञ्चालक दीपक रामदामले जानकारी दिए । रासस

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्