Kathmandu Press

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

झापा, असार २८ : शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया...
अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी

झापा, असार २८ : शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताइन्। उनी आफैँले पालेको ४० घार मौरी मरेको छ।

बर्खायाममा घारलाई टाढासम्म डुलाएर मौरी चराउने चलन छ । झापाको चारआली र मोरङको बेतना जङ्गल आसपास चरनमा लगिएका मौरी मरेर सोत्तर भएका छन् । मौरी के कारणले मरेका हुन् भन्ने पत्ता लगाउन सकिएको छैन।

उनका अनुसार यसबाट मौरीपालक किसानलाई रु ३४ लाखभन्दा बढी क्षति भएको छ । मौरी मरेको थप घटनाको विवरण आउन बाँकी रहेको हुँदा क्षतिको मात्रा अझ बढ्ने उनको भनाइ छ । शिवसताक्षीको गजुरमुखी मौरी फर्मकी सञ्चालक धनमाया पाठकले १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको जानकारी दिइन्। 

पशुपति मह उद्योगका सञ्चालक पशुपति बस्नेतले अज्ञात रोगका कारण १० घार मौरी घरमै मरेको बताए। सोम दाहालको ४०, सन्तकुमारी मुखियाको ३५, धनमाया थापाको २०, टीका थापाको २५, पूmलकुमारी चौधरीको १०, नन्दकुमार दङ्गालको ३१ र डिकुरादेवी गजुरेलको ३५ घार मौरी अज्ञात रोगले मरेको छ।

मौरीपालन व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीय किसान मौरी मर्ने घटना बढेपछि चिन्तित बनेका छन् । मौरीको घारको बीमा नगरिएका कारण क्षतिपूर्ति पाउने सम्भावना पनि छैन । झापाको शिवसताक्षी मौरीपालनका लागि केन्द्र मानिन्छ। जहाँ तीन हजार घार मौरी पालिँदै आएको छ। यहाँ वार्षिक ११ टन मह उत्पादन हुने गरेको मह उत्पादन केन्द्रका सचिव तथा पूर्ववरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल बताउँछन्। 
    
मह प्रशोधन केन्द्रले किसानबाट रु ४०० प्रतिकेजीका दरले मह खरीद गर्दै आएको छ। यो हिसाबले शिवसताक्षीमा वार्षिक रु चार करोड २० लाखको मह उत्पादन हुने गरेको छ। मौरी मरेर सोत्तर भएपछि किसानले अपूरणीय क्षति व्यहोर्नु परेको खरेल बताउँछन् । कैयौँ किसानले भर्खर ऋण लिएर मौरी पाल्न सुरु गरेका थिए । कसरी कर्जा तिर्ने भन्ने समस्याले किसानलाई सताउन थालेको छ। 

‘मौरीको घार खरीद गरेको ऋण तिर्न बाँकी नै छ, अब कसो गर्ने ?,’ गजुरमुखी मौरी फार्मका सञ्चालक धनमाया पाठकले चिन्ता व्यक्त गर्दै भनिन्। उनको १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको थियो । सत्र घार मौरी मर्दा रु दुई लाख ५५ हजार बराबरको क्षति भएको छ। 

व्यवस्थापक दाहालले मौरीमा रोगको लक्षण केही नदेखिएको जनाउँदै झार मार्ने विषादीको अत्यधिक प्रयोगका कारण चरनमा भएको बेला पानी पिउँदा मौरी मरेको हुनसक्ने बताइन्। मौरी मर्ने रोग पनि हुने जनाउँदै कृषि विज्ञ राजेन्द्रप्रसाद खरेलले मौरीपालन व्यवसाय नै धराशायी हुने जोखिम बढेको बताए।
 

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्