भारतीय कम्पनीसँग तल्लो अरुणको डीपीआर निर्माण सम्झौता
काठमाडौं, असार २८ : अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ।कूल ६७९...
काठमाडौं, असार २८ : अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ।
कूल ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्नका लागि आज समझदारीपत्रमा हस्ताक्षर भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै आयोजनाको काम अगाडि बढ्ने भएको हो।
समझदारीपत्रका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरेका छन्।
अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक रुपमा दुई हजार ६२५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। संखुवासभामा आयोजनास्थल रहेको सो आयोजना आकर्षक मध्येको एक हो।
लगानी बोर्डको यही असार ८ गते बसेको ४७औँ बैठकले विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता सतलज विद्युत् निगमसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो।
यसअघि विसं २०७८ माघ १६ गतेको बोर्ड बैठकले बुट ढाँचामा आयोजना निर्माणका लागि सतलजलाई चयन गरेको थियो। आयोजनाको कूल १३०० मिलियन अमेरिकी डलर हुनेछ।
समझदारीअनुसार दुई वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ। अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो । सो आयोजनाको हाल भौतिक प्रगति झण्डै ५० प्रतिशतको हाराहारीमा पुगेको छ। (रासस)











