‘सरकारले संसद छलेर अध्यादेशबाट तानाशाही शासन चलायो’
काठमाडौं, असार २७ : नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद छलेर अध्यादेशबाट तानाशाही शासन चलाएको आरोप लगाएकी छन्।राष्ट्रिय सभाको आज (आइतबार)...
काठमाडौं, असार २७ : नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद छलेर अध्यादेशबाट तानाशाही शासन चलाएको आरोप लगाएकी छन्।
राष्ट्रिय सभाको आज (आइतबार) को बैठकमा बोल्दै उनले नागरिकको हितविपरीत आफ्नो अभिष्ट पूरा गर्न राज्य सञ्चालन गरिरहेको बताइन्। ‘आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्र निरंकुशता हो,’ उनले भनिन्।
उनले कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीलाई सरकारले आफैंले गरेको घोषणा अनुरूप जोखिम भत्ता नदिएको बताइन्। जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल कमजोर बनेको उनको भनाइ थियो।
शिक्षा क्षेत्र पनि तहसनहस भएको उनले बताइन्। ‘नो भ्याक्सिन नो स्कुल’ भनेर शिक्षकहरु आन्दोलित भइरहेकोप्रति पनि सरकार बेखबर बनेको उनले बताइन्।
उनले महिला हिंसाका घटना बढिरहेका बेला सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी अपराधीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको उनको भनाइ थियो।











